FLASH NEWS

महोत्तरीमा दिउँसै बैंक लुट्नेमध्येको एक जना पक्राउ


नेपाल आवाज ११ श्रावण २०८०, बिहीबार ११:०७ मा प्रकाशित ११०५ पाठक संख्या

महोत्तरी – डेढ महिनाअघी महोत्तरीमा दिउँसै बैंक लुट्नेहरुमध्येको एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला मधुवनी पोष्ट फुलहर टोल गोपालपुर १३ हरलाखी टोलका २० वर्षीय अजय कुमार रहेका छन् । उनलाई प्रहरीले हिजो बुधबार पक्राउ गरेको हो । उनलाई महोत्तरीको मटिहानी नगरपालिका ८ बाट पक्राउ गर्न सफला भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका अजयमाथि हातहतियार र चोरी डाकाँ शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत महोत्तरीबाट हिरासतमा राख्ने सात दिनको म्याद लिई अनुसन्धान भइरहेको छ । महोत्तरी गाउँपालिका २ स्थित रहेको एनएमबी बैंकको शाखामा १६ जेठमा दिउँसै ४ /५ को हतियारधारी समूहले कर्मचारी तथा सेवाग्राहीलाई हतियार देखाएर १५ लाख एक हजार ४९३ रुपैयाँ तथा कर्मचारीका मोबाइल लुटेका थिए ।

नम्बर नभएको दुईवटा मोटरसाइकलमा चढेर आएका उनीहरु बैंक लुटेर फरार भएका थिए । सुरुमा ३८ लाख रुपैयाँ लुटेको कर्मचारीले भनेपनि पछि रुजु गर्दा १५ लाख १ हजार ४९३ रुपैयाँ मात्र लुटेको पुष्टि भएको थियो । घटना पश्चात मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त अनुसन्धान टोलीले घटनाको वस्तुगत र वैज्ञानिक अनुसन्धान गर्दै घटनामा संलग्न भएका ४/५ जना व्यक्तिहरूको पहिचान खुलेको प्रहरीले जनाएको छ । सोही आधारमा लुटेराहरुको खोजबिन गरिरहेको प्रहरीले जनाएको छ ।

बैंक लुटपाट घटनामा लुटेराहरुमाथि मुलुकी अपराध संहित २०७४ अन्तर्गत हातहतियार र चोरी डाकाँ शीर्षकमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी गिरीले बताए ।