FLASH NEWS

रेडी ट्रेडको गोदामबाट बरामद कार्टुन अधिकांश खोलिएका


नेपाल आवाज ११ श्रावण २०८०, बिहीबार २०:०९ मा प्रकाशित ११११ पाठक संख्या

काठमाडौं – राजस्व अनुसन्धान विभागको टोलीले हिजो काठमाडौँको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदामबाट बरामद गरेको ६६ कार्टुनमध्ये धेरै कार्टुन खोलिएको फेला परेको छ ।


विभागले सुन लुकाएको आशङ्कामा गोदाममा छापा मारेर ती कार्टुन बरामद गरेको थियो ।

ती कार्टुनहरू साउन ३ गते सिनामङ्गलबाट ‘ब्रेक शु’ भित्र लुकाएर ल्याएको सुनको कार्टुनको आकारका कार्टुनहरू थिए । ती कार्टुनहरू खोलिएको अवस्थामा फेला परेको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको झण्डै सय किलो सुन त्यही रेडी ट्रेड प्रालिको नाममा आएको थियो ।

विभागले अन्य शङ्कास्पद क्षेत्रमा पनि छापा मार्ने र संलग्नको आशङ्का गरिएको व्यक्ति खोजि गरिरहेको जनाइएको छ । विभागले उक्त सुन प्रकरणमा १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

बरामद गरिएको सुन भने राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ ।