FLASH NEWS

बालुवाटारमा ओली र देउवासँग प्रधानमन्त्रीले गरे छलफल


नेपाल आवाज १४ श्रावण २०८०, आईतवार १७:०२ मा प्रकाशित १००९ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश नियुक्ति, संसद् सञ्चालन र कोशी सरकार गठनको बारेमा गठबन्धनसहित प्रमुख प्रतिपक्षी दलका नेतासँग छलफल गरेका छन्। 


आइतबार बिहान बालुवाटारमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहका गोविन्द आचार्यले जानकारी दिए।

साउन २० गतेबाट प्रधानन्यायाधीशको पद रिक्त हुँदैछ। प्रधानमन्त्रीले यसबारेमा गठबन्धन र प्रमुख प्रतिपक्षीसहितका नेताहरूसँग छलफल गरेको आचार्यले बताए।

यसैगरी, संसद् सञ्चालनका विषयमा पनि प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी दलसँग सहयोग गरेर अघि बढ्न अनुरोध गरेका छन्। यसअघि गत साउन १० मा बसेको प्रतिनिधिसभा बैठकमा सुन तस्करी प्रकरणको छानबिनमा उच्चस्तरीय समिति बनाउनुपर्ने माग गरेपछि संसद पाँच दिनका लागि स्थगित गरिएको थियो।

‘प्रधानन्यायाधीश नियुक्ति, संसद् सञ्चालन गरेर रोकिएका विधेयकलाई अगाडि बढाउन र कोशी सरकार गठनका विषयमा प्रधानमन्त्रीले चासो राखेर छलफल अघि बढाउनुभएको हो,’ आचार्यले नेपालखबरसँग भने, ‘छलफल सकारात्मक छ।’

प्रतिनिधिसभाको बैठक भोलि (सोमबार) का लागि बोलाइएको छ।