FLASH NEWS

कोशी प्रदेशका सभामुख गौतमले दिए पदबाट राजीनामा


नेपाल आवाज १६ श्रावण २०८०, मंगलवार १६:५८ मा प्रकाशित १२०७ पाठक संख्या

मोरङ – कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । गौतमले सरकार गठनका लागि बहुमत पुर्‍याउन सभामुख पदबाट राजीनामा दिएका हुन् ।


गौतमले उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गरेर राजीनामा दिएका छन् । गौतमले आफूले राजीनामा दिएको जानकारी प्रदेश प्रमुखको कार्यालयमा पनि पठाएका छन् ।

उनले राजीनामा दिएपछि उनको समेत समर्थन लिएर कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।

गौतमको राजीनामासँगै ९३ सदस्यीय प्रदेशसभामा गठबन्धनलाई सरकार बनाउन आवश्यक बहुमत ४७ सांसद पुग्नेछ । गौतम नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

गठबन्धनले सभामुख गौतमलाई राजीनामा गराएर संविधानको धारा १६८ को उपधारा २ अनुसारको सरकारको दावी गर्न लागेको हो । सरकार गठनको लागि प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको आज बेलुका ५ः०० बजेसम्मको समय दिएका छन् ।