FLASH NEWS

पोखरामा ल्यान्डफिल साइट विवाद झनै चर्किँदै ,स्थानीय आन्दोलनमा उत्रीए


नेपाल आवाज १९ श्रावण २०८०, शुक्रबार ०९:२७ मा प्रकाशित १५८५ पाठक संख्या

कास्की – पोखरामा ल्यान्डफिल साइट विवाद झनै चर्किँदै गएको छ । विवादकै कारण गत ८ दिनदेखि पोखरामा फोहोर उठ्न सकेको छैन ।


महानगरले सम्झौताअनुसार फोहोर व्यवस्थापन नगरेको भन्दै फोहोर फाल्न रोक लगाएका पोखरा महानगरपालिका– ३२, लामेआहालमा रहेको अस्थायी ल्यान्डफिल साइटमा स्थानीय आन्दोलनमै उत्रीएका छन् ।

लामेआहालस्थित सेती नदी किनारमा रहेको अस्थायी ल्यान्डफिल साइटमा महानगरले पुस दोस्रो सातादेखि फोहोरमैला व्यवस्थापन गर्दै आएको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि उडान र अवतरण्मा समस्या भएपछि पोखरा १४ बाच्छेबुडुमा रहेको ल्यान्डफिलबाट सारेर अस्थायी रुपमा पोखरा महानगरपालिका ३२, लामेआहालको सेती नदी किनारमा फोहोर फाल्न थालिएको थियो ।

स्थानीयले ल्यान्डफिलमा सही ढंगले फोहोर व्यवस्थापन नभएर दुर्गन्ध फैलिएको तथा सडक कच्ची हुँदा बर्खामा हिलो र हिउँदमा धुलो भएर आफूहरुले सास्ती खेप्नु परेको भन्दै फोहोर ल्याउन अवरोध गरेका हुन् ।

लामो समयदेखि फोहोर नउठ्दा महानगरले सडकको बाहिरी फोहोरलाई पोखरा–९ स्थित दमकल शाखामा खाल्डो खनेर व्यवस्थापन गरेको छ । सहरभरिकै फोहोरलाई त्यहाँ व्यवस्थापन गर्न सम्भव पनि छैन । स्थानीयको निरन्तरको अवरोधका कारण पोखराको फोहोर विवाद झनै लम्बिँदै गएको छ ।

बिहीबार मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ सहित पोखरा महानगरपालिकाको सरसफाइ शाखाका कर्मचारीहरू स्थानीयसँग संवाद गर्न गएका थिए । स्थानीयसँग छलफल गर्ने क्रममा मेयरले त्यहाँ फोहोर फाल्ने क्रममा गरिएको १६ बुँदै सम्झौताको व्याख्या गर्न लागे ।

स्थानीयले ६ महिनाका लागि उक्त सम्झौता गरिएको र त्यसको समयसीमा सकिएको बताउँदै आएका छन् । मेयर आचार्यले भने सम्झौतापत्रमा समयसीमा नतोकिएको बताए ।

मेयर आचार्य बोल्दै थिए, स्थानीयले नाराबाजी गर्न थाले । फोहोर फाल्नै नदिने अडान लिए । त्यतिमात्रै होइन वार्ता गर्न आएका महानगरका मेयर, उपमेयर सहितको टोलीलाई कालो झन्डा देखाए ।

बरु डम्पिङ साइटमा ब्यानर नै राखेर उनीहरूले भनेका छन्– ‘गफाडी मेयर चाहिँदैन । फोहोर फाल्न पाइँदैन’

संवादका लागि गएको टोलीले आफ्नो कुरा राख्न पनि नसक्ने अवस्था बनेपछि उनीहरू फर्के । अझै कतिदिनसम्म उनीहरूको अवरोध कायम रहन्छ भन्ने टुंगो छैन ।