FLASH NEWS

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा उठ्यो महरामाथि छानबिन हुनुपर्ने माग


नेपाल आवाज १९ श्रावण २०८०, शुक्रबार १९:४० मा प्रकाशित १९३९ पाठक संख्या

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा सुन तस्करी प्रकरणमा मुछिएका पार्टी उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महरामाथि छानबिन हुनुपर्ने माग उठेको छ ।  बैठकमा महराको नाम सुन प्रकरणमा मुछिएकाले उपस्थित केही केन्द्रीय सदस्यले छानबिन हुनुपर्ने माग राखेका हुन् ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमा सुन हराएको सन्दर्भमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा जोडिएका छन्।

गत पुस १० मा विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको आठ करोड ५५ लाख बराबरको सुन तस्करी तथा बेचबिखनमा चिनियाँ गिरोहसँग महरा  र उनका छोरा राहुलको संलग्नता रहेको आरोप लागेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनअनुसार महरा बाबुछोराले भन्सार विभागका कर्मचारीलाई पटकपटक फोन गरेर भन्सार कार्यालयमा रहेको भेप लिलामी गर्न दबाब दिएका थिए ।

सिआइबीले सरकारी वकिल कार्यालयलाई अनुसन्धान गरी बुझाएको प्रतिवेदनमा महराका बाबुछोरा र सुन आयातकर्ता चिनियाँ नागरिक एवं अरू सम्पर्क सूत्रको टेलिफोन नम्बरसहित उल्लेख गरेको छ।

प्रहरीले अनुसन्धानका क्रममा कल डिटेल (सिडिआर)बाट महरा बाबुछोराको कनेक्सन पत्ता लगाएको हो । प्रहरीले सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको प्रतिवेदनमा उनीहरूको मोबाइल नम्बर नै उल्लेख गरिएको छ ।

यता, महराले भने सुन प्रकरणमा आफ्नो संलग्नता नभएको बताएका छन् । महराले चिनियाँसँग आफूले फोन नगरेको र  उल्लेख गरिएका फोन नम्बरसमेत आफ्नो नभएको बताएका छन्। साथै उनले राजनीतिक पूर्वाग्रहको साथ आफ्नो नाम मुछिएको समेत बताए। उनले यस सम्बन्धमा आवश्यक परे निष्पक्ष छानबिनमा सहयोग गर्ने समेत प्रतिवद्धता जनाएका छन्।