FLASH NEWS

पार्टी एक ढिक्का भयो भन्ने महसुस भएको छ,वाद-विवाद र सम्बादबाट बैठक टुंगिदैछ: प्रचण्ड


नेपाल आवाज २० श्रावण २०८०, शनिबार २२:५६ मा प्रकाशित १३७५ पाठक संख्या

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एक ढिक्का भएको बताएका छन्।


बुधबारदेखि प्रज्ञा भवन कमलादीमा जारी केन्द्रीय समितिको चौथो दिनको बैठकबाट बाहिरिँदै सञ्चारकर्मीहरूलाई छोटो प्रतिक्रिया दिँदै उनले पार्टी अब एक ढिक्का भयो भन्ने महसुस भएको बताए।

‘माओवादी बैठक वाद, विवाद र सम्बाद हुँदै टुंगिन लागेको उनको भनाइ छ। ‘हामीले लोकतन्त्रको भने पनि जनवादको भने पनि धेरै ठूलो र सर्वोच्च अभ्यास गर्‍यौं। पार्टी अब एक ढिक्का भयो भन्ने सबैलाई महसुस भएको छ। वाद विवाद र सम्बादमा यो बैठक टुंगिदैछ,’ उनले भने।

बैठकको चौथो दिन आज ७४ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए। उनका अनुसार सबैले अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्तावमा समर्थन जनाएका थिए।

त्यस्तै मा‌ओवादी नेतृ रेखा शर्माले केन्द्रीय सदस्यहरूले बोल्ने क्रम लगभग सकिएको बताइन्। उनले सरकार सञ्चालनका विषयमा सबै जनाले धन्यवाद दिएको र पार्टी निर्माणमा ठोस अवधारणा ल्याउन सुझाव दिएको बताइन्।

सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानमा पार्टीले आफ्ना पदाधिकारीलाई बचाउने काम नगरेको स्पष्ट पारिन्।

आजको बैठकमा छलफल भएका विषयमा जानकारी दिँदै उनीले केन्द्रीय सदस्यहरुले सुशासनको पक्ष र विकृति विसङ्गतिविरुद्धको सरकारले काम गरेको भन्दै सकारात्मक प्रतिक्रिया दिएको बताइन्।

उनीले बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टी निर्माणको महाअभियानमा सबै ठोस जिम्मेवारीका साथ लक्ष्य किटान गरी अघि बढ्न पनि सुझाव दिएको बताइन्। उनीले सोही सुझावलाई मध्यनजर गर्दै भोलि बस्ने बैठकमा केन्द्रीय समितिले योजना बनाउने र कार्यविभाजनको प्रक्रिया अघि बढाउने जानकारी दिइन्।

अर्को बैठक भोलि (आइतबार) १ बजेका लागि बोलाइएको छ। भोलिको बैठकले ठोस र मूर्त कार्ययोजना ल्याउने उनको भनाइ थियो।