FLASH NEWS

सुन तस्करी प्रकरणमा संलग्न १७ जना सीआईबीको हिरासतमा


नेपाल आवाज २१ श्रावण २०८०, आईतवार २१:२२ मा प्रकाशित १४५३ पाठक संख्या

काठमाडौं – एक क्विन्टल सुन तस्करीमा संलग्न १७ जना आरोपीतलाई राजस्व अनुसन्धान विभागबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पठाइएको छ ।


साउन ३ बाट उनीहरु पुल्चोकस्थित राजस्व अनुसन्धान विभागको हिरासतमा थिए । सुन प्रकरणको अनुसन्धान गर्ने जिम्मा प्रहरीले पाए लगत्तै उनीहरुलाई सिआइबीको जिम्मा लगाइएको हो । यसको सम्पूर्ण अनुसन्धानको जिम्मा प्रहरीलाई दिएसँगै मिसिल र पक्राउ परेका अभियुक्तहरूलाई प्रहरी प्रधान कार्यालय नक्साल लगिएको छ ।

अनौपचारिक रूपमा सिआइबीले शनिबारदेखि नै अनुसन्धान थालिसकेको थियो । विभागले राजश्व छली कसुरमा अनुसन्धान गरिरहेको थियो । तर यसमा संगठित अपराध, अन्तर्देशीय अपराध पनि देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप अनुसन्धान गर्ने जिम्मा सिआइबीलाई दिन निर्देशन दिएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब एक सय किलो सुन कारोबारमा संलग्न आशंकामा राजस्व अनुसन्धान विभागले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । चिनियाँ नागरिक जिक्वाङ लिन र तिब्बत मूलका भारतीय नागरिक थाप्तेन छिरिङसहित १७ जना हिरासतमा छन् ।