काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति एवं सांसद रवि लामिछानेले शीर्ष नेताहरूले आफ्नो स्वार्थका आधारमा जनप्रतिनिधिका आवाजलाई बन्धक बनाएको आरोप लगाएका छन् ।
सुन प्रकरणको सम्बन्धमा शीर्ष नेताहरूको बैठक र छलफलले संसद् खोल्ने र अवरोध हुने तय भएको भन्दै यसप्रति उनले आपत्ति जनाएका थिए । मंगलबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सांसद लामिछानेले यस्तो बताएका हुन् ।
सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै एमालेका सांसदहरूले अवरोध गर्दा केही दिनयता संसद् पटक पटक अवरोध हुँदै आएको थियो । तर शीर्ष नेताहरूको छलफलपछि एमालेले संसद् खुलाउन सहमत भएको थियो ।
सांसद लामिछानेले भने प्रमुख दलका शीर्ष नेताहरूबीच ‘बार्गेनिङ’का आधारमा संसद् खुलाइएको आरोप लगाएका थिए ।
‘तीन जना नेताहरू मिलेर सल्लाह गर्नु पर्ने भए, मिल्नेहरू र मिलाउने कामहरू किन रातारात मिलाउन सक्दैनन्,’ उनले भने, ‘यो मिलेमतो नै हो, किनभने यही सदनमा बजेट पास गर्न दिँदैनौँ भन्नेहरू किन पास हुन पुग्यो ?’
प्रमुख दलका शीर्ष नेताहरूको बैठकले संसद्को तालिका नै फेरिदिने गरेको भन्दै सांसद लामिछानेले आपत्ति जनाएका थिए ।
यस्तै, उनले एकअर्काको अनुहार पनि हेर्न नचाहने नेताहरू जब काण्डहरू हुँदा एकअर्काबिना बाँच्न नसक्ने गरी मिलेको आरोप लगाए । ‘एकअर्काको अनुहार पनि हेर्न नचाहने शीर्ष नेताहरू भ्रष्टाचारका काण्ड हुँदा किन बैठक बसिरहनुभएको छ ? यो बार्गेनिङ रातारात किन गर्न सक्दैनन्, सदन चल्ने बेलामा नै किन गरिन्छ ?’,’ उनले भने ।
अमुक नेता मिल्दा र नमिल्दा संसद चल्ने र नचल्ने निर्णय गर्न नहुने भन्दै उनले संसदमा जनताका कुरामा छलफल हुनुपर्ने बताए । अहिले पनि शीर्ष नेताहरुबीच संसदीय समितिको सभापतिमा भागवण्डा मिलेका कारण नै संसद चलेको उनले बताए ।
यस्तै सुन प्रकरणमा माओवादीका नेता कृष्णबहादुर महरा, उनका छोरा साथै ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान गर्नुपर्ने उनको भनाइ थियो ।
सांसद लामिछानेले राज्यका निकायलाई विश्वास गर्न नसकिने भन्दै सुन प्रकरणमा छानबिन समिति आवश्यक रहेको बताएका थिए । यसबीचमा उनले सरकारको अनुसन्धान पूर्ण नभएको संकेत गरेका थिए । सुन समातिए पनि यसका मुख्य दोषीलाई सरकारले उम्काउन खोजेको उनले शंका व्यक्त गरेका थिए ।