FLASH NEWS

पोखराबाट काठमाडौं आउँदै गरेको माइक्रोबस धादिङमा दुर्घटना हुँदा १२ जना घाइते


नेपाल आवाज २३ श्रावण २०८०, मंगलवार २२:४० मा प्रकाशित १५६१ पाठक संख्या

गजुरी – पोखराबाट काठमाडौं आउँदै गरेको माइक्रोबस (हायस) धादिङको गजुरी गाउँपालिका–६ बाङ्गेमोडमा दुर्घटनामा परेको छ ।


दुर्घटनामा चालकसहित १२ जना घाइते भएका छन् । तीव्र गतिमा रहेको बा २ ख ४५६७ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडक छेउमा पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । घाइते हुनेमा तीन महिला र नौ पुरुष छन् ।

६ जना गम्भीर घाइते छन् । गम्भीर घाइतेमध्ये तीन जनालाई काठमाडौं पठाइएको र गम्भीर घाइते थप तीन जनालाई गजुरी सामुदायिक अस्पतालमा सामान्य उपचारपछि काठमाडौं लैजाने तयारी भइरहेको प्रहरी कार्यालय गजुरीका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

उनका अनुसार सामान्य घाइतेको गजुरीका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । माइक्रोबसमा दुई जना बच्चासहित १६ जना सवार थिए । बच्चाको अवस्था भने सामान्य रहेको छ ।