FLASH NEWS

एमालेद्वारा संसद् अवरुद्ध, प्रतिनिधिसभा बैठक स्थगित


नेपाल आवाज २४ श्रावण २०८०, बुधबार १३:४३ मा प्रकाशित १४१७ पाठक संख्या

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । क्विन्टल सुन तस्करीको छानबिन गर्नका लागि उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेले संसद् बैठक अवरुद्ध गरेको हो । एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ ।


प्रतिनिधिसभाको बैठक एमालेले साउन १० यता लगातार अवरुद्ध गर्दै आएको छ । साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टलभन्दा बढी सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

त्यसको छानबिन सुरुमा राजश्व अनुसन्धान विभाग गरेको थियो भने पछि नेपाल प्रहरीको राष्ट्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको छ । एमालेले उक्त सुन तस्करीको छानबिन गर्नका लागि उच्च स्तरीय समिति गठन गर्न संसद् अवरोध गरेर दबाब दिइरहेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सुन तस्करीको छानबिन राज्यका नियमित संयन्त्रहरूले गर्नुपर्ने र उनीहरूलाई विश्वास गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा आग्रह गरेका थिए । सीआईबीले छानबिन गरी मुद्दा अगाडि बढाएपछि त्यसमा चित्त नबुझेमा थप अनुसन्धान तथा छानबिनका लागि सरकार तयार रहेको उनको भनाइ थियो ।

बुधबारको बैठकमा एमालेका सांसद सूर्य थापाले तस्करीको संरक्षण गर्ने गरी गृहमन्त्रीको जवाफ आएको बताए । त्यसपछि एमाले सांसदहरू वेल घेर्न पुगेका हुन् ।

सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अगाडि बढाउनका लागि सहयोग गर्न आग्रह गरेका छन् । अन्य सांसदका कुरा सुन्ने वातावरण बनाउन आग्रह गरेका थिए । एमालेको अवरोध कायमै रहेपछि सभामुखले प्रतिनिधिसभा बैठक साउन २६ सम्मका लागि स्थगित गरेका छन् ।