FLASH NEWS

नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मा भन्छन्- संसद अवरोधको जिम्मेवारी सरकारले लिनु पर्छ


नेपाल आवाज २४ श्रावण २०८०, बुधबार १९:१८ मा प्रकाशित १७८३ पाठक संख्या

काठमाडौं – नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले संसद अवरोधको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।


बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै सांसद शर्माले यस्तो बताएका हुन् । संसद अवरोधको जिम्मा सरकारले नै लिनुपर्ने उनको तर्क छ।

सांसद शर्माले सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्रीहरुले राजीनामा गरी अनुसन्धानको बाटो सहज गर्नुपर्नेमा सरकार नै संसदलाई अनिर्णयको बन्दी बनाउनेतर्फ उद्धत भएको आरोप लगाए ।

उनले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न दिनेकुरामा कसैको हानी नहुने बताए । उनले राजश्व अनुसन्धान र सिआईबीले मात्रै अनुसन्धानको निस्कर्ष निकाल्न नसक्ने बताए ।

सरकारी संयन्त्रको दुरुपयोग गरी सुन तस्करी भएकाले सरकारी संयन्त्रबाट नै अनुसन्धान निष्पक्ष हुन्छ भन्न नसकिने उनको भनाइ छ । उनले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न नेकपा माओवादी केन्द्रका सांसदहरु नै नमानेको र ढिलो चाँडो उच्चस्तरी समिति बनाउन माओवादी तयार हुनुपर्ने बताए ।

उता, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसदमा प्रतिपक्षका विषय उठान गर्न नदिन सत्ता पक्षले संसदमा दादागिरी देखाएको आरोप लगाएका छन् ।

उनले बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद सूर्यबहादर थापाले आफ्ना धारणा राख्दै गर्दा सत्तापक्षका सांसहरुले उठेर बिरोध गरेको भन्दै त्यसलाई सत्ता पक्षको दादागिरी भएको बताएका हुन् ।

सत्तापक्षको दादागिरी देख्दा सरकार संसद चलाउन नचाहने स्पष्ट भएको दाबी गर्दै सचेतक बर्तौलाले प्रतिपक्षले बोल्दै गर्दा सत्तापक्षका सांसदहरुले संसदीय मर्यादाबाहिर गएर विरोध गरेको बताए ।

‘सरकार यसमा जिम्मेवार बन्न सकेन । सम्माननीय सभामुखज्युले प्रतिपक्षको तर्फबाट हाम्रा मान्य सूर्यबहादुर थापालाई आफ्ना भनाइ राख्न दिँदा प्रतिपक्षले सभामुखले समय दिएर बोल्दासमेत सत्ता पक्षका मान्यहरुले उठेर अवरोध गर्नुभयो। सत्तापक्षको यस किसिमको दादागिरी देखापरेको छ’ उनले भने, ‘यसैबाट थाहा हुन्छ सरकार सदन चलाउन चाहँदैन । सत्तापक्ष संसदमा द्वन्द्व गर्न चाहन्छ ।’ उनले संसदलाई द्वन्द्वतर्फ लैजान सरकार तयारीका साथ अघि बढिरहेको बताए ।