FLASH NEWS

अझै जनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न सकिएन् : प्रधानमन्त्री ‘प्रचण्ड’


नेपाल आवाज २१ मंसिर २०८०, बिहीबार १४:०९ मा प्रकाशित १५४९ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आम जनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै नसकिएकाे बताएका छन्। बिहिवार काठमाडाैंमा आयोजित  ‘रेस्पोन्सेवल विजनेश समिट’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिएपनि व्यवहारमा देखिन नसकेकाे बताए।


उनले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न आर्थिक कार्यक्रमहरु अगाडि सारेको बताएका छन्। उद्यमी व्यवसायी समेत सम्मिलित हालै युएईमा आयोजित सम्मेलनमा नेपाललाई लगानीको गन्तव्य बनाउन आग्रह गरेको बताए।

उनले भने, ‘सरकारले यसका लागि आवश्यक कानुनी तथा नीतिगत आधार तयार गर्न प्रतिबद्ध छ। सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न आर्थिक कार्यक्रमहरु अगाडि सारेको छ। तर यसका लागि व्यवसाय र समाज सबै सरोकारवालाहरु जिम्मेवार बन्नुपर्दछ।मुलुकको प्रमुख साझेदार निजी क्षेत्रमात्र होइन, सरकार र राज्यका सबै निकाय उत्तिकै जिम्मेवार रुपमा प्रस्तुत हुन आवश्यक छ।

सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले चालेको कदममा सबैको साथ र सहयोगको लागि आग्रह गरे।

उनले भने, ‘अर्थतन्त्रको क्षेत्रमा विद्यमान दवावलाई चिर्न र देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसञ्चार गर्न मैले लगातार प्रयास गर्दै आएको छु। केही दिन पहिला मात्र मैले सरकार, निजी क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरु सम्मिलित बैठकको आयोजना गरेर अर्थतन्त्रमा सुधार ल्याउन बृहत अन्तरक्रिया गरेको छु। अन्तरक्रियापछि केही महत्वपूर्ण घोषणाहरुसमेत गरिएको छ। मेरो विश्वास छ– उक्त अन्तरक्रिया र घोषणाले अर्थतन्त्रमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ।