FLASH NEWS

यो सरकार राष्ट्रघाती र बेइमान भयो : एमाले अध्यक्ष ओली


नेपाल आवाज २१ मंसिर २०८०, बिहीबार १४:४२ मा प्रकाशित ८९५ पाठक संख्या

बागलुङ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार राष्ट्रघाती र बेइमान भएको आरोप लगाएका छन् ।
बिहीबार ‘समृद्धिका लागि संकल्प यात्रा’का क्रममा बागलुङ बजारमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारप्रति यस्तो आक्रोश पोखेका हुन् ।


अध्यक्ष ओलीले नेपालको चरम असफलतामा गैरजिम्मेवार सरकार र गठबन्धन भएको पनि आरोप लगाए । उनले भने, ‘देशमा अराजकता बढाउने, गैरराजनीतिक कुसंस्कारलाई प्रश्रय दिने, जनतामा निराशा बढाउने यो सरकार लाज पचाएर कुर्सीमा बसेको छ । यो सरकारले न विकास गर्छ, न राष्ट्रिय हितमा काम गर्छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पोखरा विमानस्थल आफूले बनाएर छाडेको उल्लेख गर्दै भने, ‘यो सरकार कम्फरटेबलवाला हो, त्यसैले ऊ रिसाउँछ कि भनेर जहाज ल्याउन दिएको छैन । न कुर्सी छाड्छ, न काम गर्छ, यस्तो देख्दा एमालेको मन पोलेको छ ।’

उनले मिसन–०८४ मार्फत एमालेले एकल सरकार बनाएर जनताका सपना पूरा गर्ने दाबी गरे । मंसिर १४ गतेदेखि सुरु भएको २१ दिने अभियानमा संकलन गरिएका सबै माग र सुझाव बटुलेर राष्ट्रनिर्माणको खाका र योजना बनाउने ओलीले बताए । उनले उक्त योजनाअनुसार मिसन–०८४ मार्फत एकल बहुमतको सरकार बनाएर देशलाई अगाडि बढाउने दाबी गरेका हुन् ।

बिहीबार बागलुङको गलकोट, घोडाबाँधे र बागलुङ बजारमा एमालेले जनभेटघाट र सभासमेत गरेको छ । अभियानमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्षहरू, महासचिव शंकर पोखरेललगायत सहभागी छन् ।