FLASH NEWS

डा.केसीले गरे तीनदिने सत्याग्रहको घोषणा


नेपाल आवाज २९ मंसिर २०८०, शुक्रबार १५:०२ मा प्रकाशित ११०५ पाठक संख्या

काठमाडौं – डा.गोविन्द केसीले आजदेखि तीनदिने सत्याग्रह सुरु गर्दैछन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै डा.केसीले तीनदिने सत्याग्रहको घोषणा गरेका हुन् ।


सरकारले गरेका सहमति कार्यान्वयन नगरेको भन्दै उनले आजसाँझ ५ बजेबाट सत्याग्रह सुरु गर्ने जनाए । लामो समयदेखि चिकित्सकीय मुद्दाहरु उठाएर सत्याग्रह बसे पनि सरकारले माग पूरा नगरेको उनको भनाइ छ ।

डा. केसीले भने, ‘यो अवस्थामा अन्यायमा पर्ने नागरिकहरूका लागि बोल्नु र दण्डहीनता अन्त्य गर्नु हाम्रो कर्तव्य बन्न जान्छ । विगत लामो समयदेखि यी मुद्दाहरू उठाएर हामीले सत्याग्रह समेत गर्दै आएका छौँ । तर, पनि अवस्था परिवर्तन भएको छैन । त्यसैले जबाफदेही बनाउनका लागि मंसिर २९ गते (आज) साँझ ५ बजेदेखि तीनदिने सत्याग्रह सुरु गर्ने घोषणा गर्दछौँ ।’

उनले केसीले सरकारी अस्पतालमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरू पाइने सुनिश्चित गर्नुपर्ने, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने र चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउनुपर्ने माग अघि सारेका छन् ।

यस्तै, जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यसअघि आफूसँग भएका सम्झौताअनुसार इलाम, उदयपुर, डडेलधुरामा सरकारी मेडिकल कलेज खोल्ने, सय शय्याभन्दा बढी क्षमता भएका एका सरकारी अस्पतालमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्बन्धी विषयका कार्यक्रम सुरु गर्ने, विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्नेलगायतका दर्जनौँ माग राखेका छन् ।