FLASH NEWS

राजसंस्था,हिन्दु राष्ट्र पुनःस्थापना र प्रदेश खारेजीको मागसहित राप्रपाले गर्‍यो आन्दोलनको उद्घोष


नेपाल आवाज ३ पुष २०८०, मंगलवार १९:१६ मा प्रकाशित २६३५ पाठक संख्या

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था,हिन्दु राष्ट्र पुनःस्थापना र प्रदेश खारेजीको माग गर्दै बृहत् आन्दोलन गर्ने निर्णय गरेको छ। काठमाडौंमा बसेको तीन दिने केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी आन्दोलन गर्ने निर्णय भएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।


मुलुकको बिग्रदो अर्थतन्त्र, जनतामा देखिएको निराशा, चरम बेरोजगारी, आर्थिक मन्दीले किसान तथा उद्यमीहरूमाथिको बढ्दो ऋणभार, युवा शक्तिको विदेश पलायन, भष्ट्रचारलगायतका जनजीविकाका मुद्दा सम्बोधन गर्नुपर्ने मागसहित आन्दोलन घोषणा गरिएको उनले बताए।

आन्दोलन तयारीका लागि पुस-माघमा देशभरि सभा गर्ने, फागुनमा मेची-महाकाली एकता यात्रा गर्ने र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय गरिएको भएको उनले बताए।

आन्दोलनलाई सफल बनाउन अध्यक्ष लिङ्देनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरिएको छ। उक्त समितिमा केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरू रहने राप्रपाले जनाएको छ।

आन्दोलन अघि बढ्दै गयो र जनताको चाहना भयो भने राप्रपा प्रदेशमा मात्र नभई प्रतिनिधिसभाबाट पनि फिर्ता भएर आन्दोलनलाई अझ सशक्त बनाएर अघि जाने अध्यक्ष लिङ्देनले बैठकपछि निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुसँग बताए ।

‘राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशमा मात्र होइन, अन्य तहहरुमा समेत संविधानसँग सहकार्य गरिरहेको छ । अहिले हामीले तत्काल प्रदेशमा रहेका हाम्रा सदस्यहरु फिर्ता लिने कुनै निर्णय गरेका छैनौं,’ उनले भने, ‘तर आन्दोलन अघि बढ्दै गयो र जनताको चाहना भयो भने राप्रपा प्रदेशमा मात्र होइन, प्रतिनिधिसभाबाट पनि फिर्ता भएर आन्दोलनलाई अझ सशक्त बनाएर अघि जान सक्ने सम्भावना छ ।’

उनले समान विचारधारा राख्ने पार्टी, व्यक्ति, संघ संस्थालाई सहकार्यको लागि आहृवानसमेत गरे ।

‘राप्रपाले आजको बैठकबाट नै समान विचारधारा राख्ने पार्टी, व्यक्ति, संघ संस्थालाई सहकार्यको लागि आहृवान गरेको छ । समान विचार राख्ने शक्ति र संघसंस्थालाई आफ्नो आफ्नो ठाउँबाट आन्दोलन गर्न, वातावरण गर्न र सहकार्यको लागि आहृवान गर्दछु,’ उनले भने, ‘समान धारा भएकाहरुलाई मिलेर जानुको विकल्प छैन, एकले अर्काको खुट्टा तान्ने काम बन्द गरौं ।’  ‘नवीन राप्रपा’ कार्ययोजनाका बाँकी कार्यहरु पनि आन्दोलनको अंगको रुपमा सम्पन्न हुने भएका छन् ।

अध्यक्ष लिङ्देनले सरकारको एक वर्षे कार्यकाल सुखद् नभएको र देश अर्थतन्त्रसहित सर्वाङ्गिण हिसाबले अधोगतितर्फ गएको दाबी गरे ।

यसैगरी, पार्टीका संगठन विभाग प्रमुख, महामन्त्री डा. धवल शमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरिएको छ भने पार्टीका कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक परिचालन समिति गठन भएको छ । प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठको नेतृत्वमा प्रचार तथा प्रसार समिति गठन भएको छ ।

तीन दिनसम्म काठमाडौंमा चलेको वैठक विभिन्न १३ बुँदे निर्णयसहित सम्पन्न भएको छ ।