FLASH NEWS

रुकुम पश्चिमका उमेशले लेखे पृथ्वीनारायणको नाममा उत्कृष्ट कविता


नेपाल आवाज २५ पुष २०८०, बुधबार ०९:५४ मा प्रकाशित १२४९ पाठक संख्या

काठमाडौँ- रुकुम पश्चिमका उमेश पुनमगरले पृथ्वीनारायण शाहको बारेमा उत्कृष्ट कविता लेखेर प्रथम भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीका अवसरमा आह्वान गरेको ‘पृथ्वीनारायण शाह’ का बारेमा कविता प्रतियोगितामा उमेश उत्कृष्ट कविता लेखेर विजयी भएका हुन्।


यसैगरी कपिलवस्तुका सुभाष खनालको ‘पृथ्वीनारायण’ दोस्रो, सङखुवासभाका सिजन श्रेष्ठको ‘पृथ्वीको यात्रामा पृथ्वी’ तृतीय भएको छ।

यस्तै दाङका अविरल डिसीको ‘बाँचौँ नेपाली बनी’, म्याग्दीका निरुता बुढाथोकीको ‘ए मेरा सन्तति हो’ र लमजुङका प्रवीण अधिकारीको ‘बडामहाराजलाई पत्रले’ प्रोत्साहन पुरस्कार प्राप्त गरेको छ।

राप्रपाले गत मङ्सिर २७ देखि पुस १५ गतेसम्मको समयसीमा तोकेर ४० वर्षमुनिका युवालाई सहभागी हुन पाउनेगरी कविता प्रतियोगिताको खुला आह्वान गरेको राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। उनका अनुसार छोटो समयको सूचनामा तीन सय पाँचजना सर्जकबाट रचना प्राप्त भएको थियो।

उत्कृष्ट कविता छनोटका लागि वरिष्ठ कवि तथा साहित्यकार विश्वबिमोहन श्रेष्ठ, डा. नवराज लम्साल र मोमिला जोशी निर्णायक रहेका थिए। रुकुमपश्चिमका उमेश पुनमगरको ‘देशभित्र देखेको देश’ कविता प्रथम भएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख श्रेष्ठले बताए।

विजेतालाई प्रथम पुरस्कारस्वरुप रु एक लाख, द्वितीय पुरस्कारस्वरुप रु ५० हजार, तृतीय पुरस्कारस्वरुप रु २५ हजार (तीन जना प्रत्येकलाई) प्रोत्साहन पुरस्कारस्वरुप रु १० हजारका दरले यही पुस २७ गते काठमाडौँको भृकुटीमण्डपमा हुने जलपान समारोहका बीच पुरस्कृत गरिने र सोही दिन विजेताको कविता वाचनसमेत हुने प्रवक्ता एवं प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिए।