FLASH NEWS

शहीदहरूको बलिदानी र त्यागबाट प्राप्त गणतन्त्र मार्फत समाजवादको यात्रामा अग्रसर छौँ: मुख्यमन्त्री जम्कट्टेल


नेपाल आवाज १६ माघ २०८०, मंगलवार १२:५८ मा प्रकाशित ६४३ पाठक संख्या

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शहीदहरूको बलिदानी र त्यागबाट प्राप्त भएको गणतन्त्र मार्फत समाजवादको यात्रामा बागमती प्रदेश सरकार अग्रसर रहेको बताएका छन् । सोमबार सहिद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री जम्कट्टेलले शहीदको त्यागबाट प्राप्त गणतन्त्र मार्फत समाजवादको लक्ष्य प्राप्त गर्दै नेपाली जनताहरूको समृद्धिको यात्रालाई अघि बढाउन सकिएको खण्डमा शहीदहरू प्रतिको सम्मान हुने बताए ।


मुलुकको समृद्धि र समाजवादी लक्ष्यका लागि सबै राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपालीहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाई छ । शहीद दिवसले सबैलाई एकताबद्ध भएर अघि बढ्न प्रेरणा प्रदान गर्ने उनले विश्वास व्यक्त गरे ।

‘शहीद दिवसका अवसरमा नेपालमा जहाँनीया राणा शासनका विरुद्ध आन्दोलन सुरु भएपश्चात् सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुँदासम्म विभिन्न कालखण्डमा भएका आन्दोलनका क्रममा आफ्नो प्राण आहुति दिनुहुने सम्पूर्ण आदरणीय शहीदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’ उनको शुभकामना सन्देशमा भनिएको छ, ‘जहाँनीया राणा शासनको सुरुवात देखि प्रजातन्त्र, लोकतन्त्र प्राप्तिको लागि आफ्नो जीवनलाई सहजै देशका लागि बलिदानी दिने चार महान् शहीदहरू गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्द तत् पश्चात्का प्रजातन्त्र पुनः स्थापना, सशस्त्र द्वन्द्व एवम् सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा मृत्युवरण गर्नुहुने सम्पूर्ण वीर सपुतहरू हामी सबैका लागि आस्थाका केन्द्र, पथप्रदर्शक तथा आदर्श व्यक्तित्वको रूपमा मन मस्तिष्कमा रहिरहनु हुनेछ ।’

शहीदहरूको त्याग र बलिदानको उच्च सम्मान गर्दै उनीहरूका सपना साकार पार्न र देखाउनु भएको बाटोमा अघि बढ्नको लागि बागमती प्रदेश सरकार सदैव प्रयत्नशील रहेको मुख्यमन्त्री जम्कट्टेलको सन्देशमा उल्लेख गरिएको छ ।

शहीदको सम्मानका लागि राजनीतिक दल र नेतृत्वहरू बिच आत्मीयता, आपसी समझदारी, एकता, सामाजिक सद्भाव र देशको समृद्धि एवम् अमन चयन कायम गर्ने वातावरण निर्माण र समृद्ध नेपाल र समुन्नत बागमती प्रदेश निर्माण गर्ने तर्फ प्रेरणा अग्रसर हुन मुख्यमन्त्री जम्कट्टेलले आग्रह गरे ।