FLASH NEWS

मिसेस नेपाल क्यानडाको ताज सृष्टिलाई


नेपाल आवाज १७ माघ २०८०, बुधबार १९:१५ मा प्रकाशित ११०५ पाठक संख्या

क्यानडामा मिसेस नेपाल क्यानडा सम्पन्न भएको छ। महिला शिक्षा तथा क्षमता विकास समूह क्यानडा र नेप्लिज फेसन होम नेपालको संयुक्त आयोजनामा क्यानडामै पहिलोपटक क्यानडामा बस्दै आएका विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल क्यानडा भव्यरुपमा सम्पन्न भएको हो।


क्यानडाको ब्रयमटम इस्प्रेनजा ब्याक्वेट हलमा सम्पन्न प्रतियोगितामा सृष्टि श्रेष्ठ मिसेस नेपाल क्यानडाको ताज चुम्न सफल भएकी छिन्।

प्रतियोगिताको अन्तिम प्रस्पिर्धाका उत्कृष्ट ६ लाई सोधिएको संसारमा केको कमी छ भन्ने निर्णायक प्रश्नमा आजको संसारमा अरुको भावना र अनुभवलाई महसुस गर्ने क्षमताको कमी छ, हामी एक अर्काको अन्तरसम्बन्ध नै विभाजित हुँदै गरेको संसारमा बस्छौं, हिजोआज जहाँ समझदारी र करुणा धेरै पछाडि छ, समानुभूतिको संस्कृतिलाई बढावा दिएर हामीले एउटा यस्तो ठाउँको सिर्जना गर्नुपर्छ, जहाँ सबैले सुन्न, बुझ्न र स्वीकार गर्न, महसुस गर्न सकोस् भन्ने सटिक जवाफ दिँदै सृष्टिले प्रमूख उपाधिको ताज चुमेकी थिइन्।

उनले प्रमूख उपाधिका साथमा मिसेस फ्रेन्डसीपको उपाधिलाई पनि आफ्नो बनाएकी छन्। क्यानडाका विभिन्न शहरमा बस्दै आएका १० विवाहित सुन्दरीले अन्तिम स्पर्धामा भाग लिने अवसर पाएको प्रतियोगितामा अलिशा राजभण्डारी फस्ट रनर्सअपका साथमा फोटोजेनिक र रश्मी थापा मगर सेकेन्ड रनर्सअप भएका छन्। प्रतियोगितामा येमी कर्माचार्य ट्यालेन्टेट र श्याम लिम्बु पब्लिक च्वाईस अवार्ड विजेता भए।

नमुना फेसन कलेजले तयार पारेको सुन्दर डिजाइनर पोसाकमा सजिएर र्‍याम्पमा  प्रस्तुत भएका सुन्दरीहरुलाई कार्यक्रमका सहभागीहरुले भव्य ताली र हुटिङबाट स्वागत र प्रोत्साहित गरेका थिए। नेपालका लागि क्यानडाकी कार्यबाहक राजदुत रोजिना तम्राकारको प्रमूख आतिथ्यमा सम्पन्न प्रतियोगितामा प्रोफेसर निरा शर्मा, डा. संगिता धौबडेल, सुभेक्षा भट्ट र निलु केशरी निर्णायक रहेका थिए।

कार्यक्रममा महिला शिक्षा तथा क्षमता बिकास समुह क्यानाडाकी अध्यक्ष चन्दा श्रेष्ठले क्यानडामा रहेका विबाहित सुन्दरीहरुलाई एकत्रित गर्दै उनीहरुमा महिला सशक्तिकरण, आत्मविश्वास अभिवृद्धि र अन्तर्निहित प्रतिभा प्रदर्शन गर्नका लागि मिसेस नेपाल क्यानडाको शुरुवात गरिएको बताइन्।

त्यस्तै नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले यही प्रतियोगिताबाट आफ्नो संस्थाको अन्तर्राष्ट्रिय प्रतियोगिताको थालनी भएको बताइन्। उनले यो प्रतियोगिता हरेक वर्ष आयोजना गरिने जानकारी पनि गराइन्।