FLASH NEWS

थ्रीस्टारलाई हराउँदै आर्मीले जित्यो आहा!रारा पोखरा गोल्डकपको उपाधि


नेपाल आवाज २० माघ २०८०, शनिबार १८:३८ मा प्रकाशित १८५५ पाठक संख्या

पोखरा – तेइसौँ आहा! रारा पोखरा गोल्डकपको उपाधि विभागीय टीम त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । तेइस वर्षको इतिहासमा आर्मीले पहिलो पटक उपाधि जितेको हो ।


पोखरा रंगशालामा आज भएको फाइनल प्रतिस्पर्धामा पाँच पटकको उपाधि विजेता थ्रीस्टारलाई ३-० गोलले हराउँदै आर्मीले उपाधि आफ्नो पोल्टामा पारेको हो ।

आर्मीलाई उपाधि दिलाउन टीम कप्तान जिलेप्सीजंग कार्की, फत्तेमान घले र वसन्त जिम्वाले एक–एक गोल गरेका थिए ।

खेलको ३८ औं मिनेटमा जिलेस्पीले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको आर्मीले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो ।

खेलको ८३औं मिनेटमा घलेले गोल गर्दै आर्मीको अग्रता २–० को बनाए । खेलको अतिरिक्त समयमा बसन्तले गोल गर्दै आर्मीलाई ३–० गोलको जित दिलाए ।

आर्मी यसभन्दा अघि चार पटक फाइनलमा प्रवेश गरेको थियो । आर्मीले अहिलेसम्म उपाधि भने जित्न सकेको थिएन । २०६५, ०६६, ०७२ र ०७५ मा फाइनल पुगेको थियो ।

थ्रिस्टारले २०६३, ०६७, ०६९, ०७१ र ०७५ मा उपाधि जितेको थियो । शनिवारको खेलमा आर्मीले ५ वर्षअघिको बदला फर्कायो ।

फाइनल खेलको म्यान अफ द म्याच त्रिभुवन आर्मीका जिलेस्पी जंग कार्की,उत्कृष्ट गोलकिपर आर्मीका समित श्रेष्ठ, आर्मीकै विमल पाण्डे उत्कृष्ट डिफेन्डर, थ्रीस्टारका विवेक पौडेल उत्कृष्ट मिडफिल्डर,सर्वाधिक गोलकर्ताको अवार्ड दिनेश हेन्जनले पाए र आर्मीका मेघराज केसी उत्कृष्ट प्रशिक्षक घोषित भए। यस्तै डिफेन्डरमा उत्कृष्ट भएका विलम पाण्डे सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै स्कुटर जित्न सफल भए। उपाधिसँगै आर्मीले १२ लाख र थ्री स्टारले ६ लाखमा पुरस्कार रकम प्राप्त गरेको छ ।

सहारा क्लब, पोखराको आयोजनामा गत माघ ९ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताबाट बचत भएको रकम क्लबद्वारा सञ्चालित फुटबल एकेडेमी मै खर्च गरिने आयोजकले जनाएको छ ।