FLASH NEWS

प्रथम एनएपीएफएस अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफि फुटबल प्रतियोगिता सुरू


नेपाल आवाज २२ माघ २०८०, सोमबार १९:३७ मा प्रकाशित १७८३ पाठक संख्या

काठमाडौँ – नेपाल एपीएफ स्कुल कीर्तिपुरमा प्रथम एनएपीएफएस अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफि फुटबल प्रतियोगिता २०८०  सुरु भएको छ ।


आउँदो फागुन ८ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगिताको आज एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमले उद्घाटन गर्नु भयो ।

उक्त प्रतियोगितामा उपत्यका स्थित १७ र काभ्रे जिल्लाबाट १ गरी कुल १८ वटा विद्यालयहरुको १९ टिमबीच लिग कम नकआउट आधारमा खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।

विद्यालय तहबाटै फुटबल खेलको विकास र विस्तार गर्ने उद्देश्यले हाल काठमाडौँ उपत्यका र भविष्यमा काठमाडौँ उपत्यका बाहिरका एपीएफ स्कुलहरु, अन्य विद्यालय तथा फुटबल क्लबहरुलाई समेटी राष्ट्रिय स्तरको प्रतियोगिता बनाउने यस प्रतियोगिताको उद्देश्य रहेको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमले जानकारी दिनुभयो ।

आज भएको उद्घाटन खेल अन्तर्गत लेबोरेटरी माध्यमिक विद्यालय कीर्तिपुर र नेपाल एपीएफ स्कुल कीर्तिपुर (ख) बीच भएको खेलमा लेबोरेटरी माध्यमिक विद्यालय कीर्तिपुर ३–१ गोलको अन्तरले आजको लिग चरणको प्रथम खेल जित्न सफल भएको छ ।

दोश्रो खेलमा सैनिक आवासीय महाविद्यालय सल्लाधारी, भक्तपुरले लिटल एन्जल्स स्कुल हात्तिबन, ललितपुरलाई ६–१ गोल अन्तरले पराजित गरेको छ ।

सो कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालय प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुधिर सुवेदीको विशेष आतिथ्यता रहेको थियो भने नेपाल एपीएफ स्कुल, कीर्तिपुर विद्यालयका प्रधानाचार्य युवराज पराजुलीले स्वागत मन्तव्य दिनु भएको थियो । विद्यालय अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक राजकुमार प्याकुरेलले खेल प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

यसै अवसरमा विद्यालय समादेशक सशस्त्र प्रहरी नायव उपरीक्षक राजेन्द्र गुरागाईद्धारा प्रमुख अतिथि, विशेष अतिथि विभिन्न संचार माध्यमबाट उपस्थित हुनु भएका सञ्चारकर्मीहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, विभिन्न कार्यालयबाट उपस्थित हुनु भएका पदाधिकारीहरु, अखिल नेपाल फुटबल संघका पदाधिकारीहरु, सम्पूर्ण रेफ्री तथा व्यवस्थापकहरु, विभिन्न विद्यालयबाट पाल्नु भएका टिम कोच तथा व्यवस्थापकहरु, बुद्धिजीवी, स्थानीय भद्रभलाद्मी, शिक्षक शिक्षिकाहरु, नेपाल एपीएफ स्कुल पूर्व विद्यार्थी संघका प्रतिनिधिहरु खेलाडी विद्यार्थीहरु लगायत सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

उक्त खेलको आउँदो फागुन ८ गते संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा समापन हुने आयोजकले जनाएको छ । उक्त खेल नेपाल एपीएफ स्कुल, कीर्तिपुर काठमाडौँले नगद पुरस्कार पचास हजार राशी सहित आयोजना गरेको हो ।