FLASH NEWS

डा. राजेश अहिराजद्वारा पृथ्वीनारायण शाह छात्रवृत्ति कोष स्थापना


नेपाल आवाज २६ माघ २०८०, शुक्रबार १२:०२ मा प्रकाशित ९४९ पाठक संख्या

काठमाडौं – मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख डा. राजेश अहिराजले पृथ्वीनारायण शाहका नाममा छात्रवृत्ति कोष स्थापना गरेका छन् । सप्तरीको रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको हो ।


सप्तरीको रूपनगरस्थित गैर नाफामुखी क्याम्पसमा आयोजित एक समारोहमा डा. अहिराजले एक लाख एक हजार रूपैयाँ हस्तान्तरण गरेर ’राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष’ शुभारम्भ गरेका हुन् ।

रूपनगर क्याम्पसमा अध्ययन गर्ने विपन्न तथा जेहनदार विद्यार्थीहरूलाई उच्च शिक्षामा सघाउने उद्देश्यले आरम्भ गरिएको अक्षय कोष रकममा प्राप्त हुने बैंक व्याजबाट छात्रवृत्ति उपलब्ध गराइने जानकारी क्याम्पसले दिएको छ ।

अक्षय कोषको आकार एक करोड रूपैयाँ पु¥याउने तत्कालीन लक्ष्य राखिएको कुरा क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेल बताए । ‘अक्षय कोषलाई १० करोड रूपैयाँको बनाएर यो क्याम्पसमा अध्ययन गर्ने सबै छात्र–छात्रालाई निशुल्क शिक्षा दिने हाम्रो सपना हो,’उनले भने ।

डा. राजेश अहिराजको योगदानबाट प्रभावित भएर क्याम्पसका अध्यक्ष गिरिराज संग्रौलाले‘ राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष’मा ५१ हजार रूपैयाँ थप गर्ने घोषणा गरे ।

अक्षय कोषमा रूपनगर निवासी रामप्रसाद खतिवडाले २१ हजार एक सय ११ रूपैयाँ, प्रमिला खतिवडाले ११ हजार एक सय ११ रूपैयाँ र दुवलक्ष्मी श्रेष्ठले १० हजार रूपैयाँ योगदान गरे ।

डा. अहिराजले गाउँका विद्यार्थीका लागि केही गरौँ भनेर उक्त क्याम्पस रोजेको बताए । ‘मृत्युपछिको जीवन समेतलाई सार्थक बनाउन मानिसले आफ्नो आर्जनको न्यूनतम् दश प्रतिशत सामाजिक सेवामा लगाउनुपर्छ,’ उनले भने ।