FLASH NEWS

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ४ मन्त्री र २ जना राज्यमन्त्री थप


नेपाल आवाज २६ माघ २०८०, शुक्रबार १९:२७ मा प्रकाशित ५४७ पाठक संख्या

विराटनगर- कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ। कोशीका मुख्यमन्त्री केदार कार्कीले शुक्रबार ४ मन्त्री र २ जना राज्यमन्त्री थप गरि सरकार विस्तार गरेका हुन्।


कांग्रेसका दुई र माओवादीका दुई जनालाई मुख्यमन्त्री कार्कीले मन्त्री बनाएका छन्। कांग्रेसका प्रदिपकुमार सुनुवार र रामकुमार खत्री मन्त्री नियुक्त भएका हुन्। सुनुवारलाई स्वास्थ्य र खत्रीलाई उद्योग कृषि, तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

माओवादी केन्द्रका राजेन्द्र कार्की र नारायण मगर मन्त्री बनेका छन् । कार्कीलाई सामाजिक विकास तथा मगरलाई खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ। यस्तै कांग्रेसकी इन्दिरा थापालाई आर्थिक मामिला तथा योजना राज्यमन्त्री र सुनिताकुमारी गुरुङलाई आन्तरिक मामिला तथा कानून राज्यमन्त्री नियुक्त गरिएको छ।

योसँगै कोशीमा १० सदस्यीय मन्त्रिपरिषद् भएको छ। यसअघि कार्तिक १७ गते नेकपा माओवादी केन्द्रका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगू भौतिक पूर्वाधारमन्त्री नियुक्त भएका थिए ।