FLASH NEWS

वर्तमान राजनीतिक परिस्थिति जटिल र पेचिलो बन्दै गएको छ : प्रधानमन्त्री


नेपाल आवाज २६ माघ २०८०, शुक्रबार १९:४४ मा प्रकाशित ६७९ पाठक संख्या

काठमाडौं –  प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक परिस्थिति जटिल र पेचिलो बन्दै गएको बताएका छन्।


पार्टी कार्यालय पेरिसडाडामा शुक्रबार बसेको माओवादी स्थायी कमिटी बैठकमा धारणा राख्दै प्रचण्डले वर्तमान परिस्थिति अहिले तरलका साथै जटिल र पेचिलो भएको बताएका हुन्। अहिलेको कार्यभार कानूनहरु बनाउने र मुख्यतः शान्तिप्रक्रियालाई टुंगोमा पुर्‍याउन अन्य दलहरुसंग छलफल भइरहेको प्रचण्डले बताएको बैठकपछि माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

बैठकमा विधान मस्यौदाका बारेमा नेताहरुले धारणा राखेको र कमिटीलाई चुस्त दुरुस्त बनाउनुपर्ने सुझाव आएको उनले बताए। त्यस्तै केन्द्रीय समिति १५१ बनाउनुपर्ने प्रस्तावमा छलफल भएको अन्तिम निष्कर्ष विधान सम्मेलनबाटै हुने सापकोटाले जानकारी दिए। उनले राष्ट्रियसभा अध्यक्ष चयनको विषयलाई लिएर गठबन्धनबीच कुनै समस्या नरहेको र पाँचै वर्ष चल्ने दावी गरे।

प्रवक्ता सापकोटाले बाबुराम भट्टराई नेतृत्वको नेसपासँग एकता गरेर जाने पार्टीको तयारी रहेको बताए। माओवादी स्थायी कमिटी शनिबार पनि बस्ने छ भने माघ २८ र २९ गते केन्द्रीय कमिटी बैठक र फाल्गुन १ देखि ३ गतेसम्म विधान सम्मेलनको आयोजना गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए।