FLASH NEWS

विमानस्थलमा कार्यरत डीआईजी चन्दको प्रहरी प्रधान कार्यालयमा सरुवा


नेपाल आवाज २६ माघ २०८०, शुक्रबार २१:४९ मा प्रकाशित ८९५ पाठक संख्या

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत डीआईजी अर्जुन चन्द ठकुरीको प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उनलाई काज सरुवा गर्ने निर्णय गरेका हुन् ।


उपप्रधानमन्त्री स्तरीय निर्णयअनुसार चन्द प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा सरुवा भएका हुन् । प्रदेश समन्वय विभागको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हुन्छन् ।

अहिले प्रदेश समन्वय विभागको प्रमुख एआईजी सुदीप गिरी छन् । आईजीपी बसन्त कुँवरले डीआईजी चन्दलाई ‘काज’ सरुवा गर्न गृह मन्त्रालयमा सिफारिस गरेका थिए ।

माघ २१ मा अन्तर्राष्ट्रिय विमानस्थलतर्फको डिपार्चरको वाक थ्रु (एक्स–रे) गेटमा अध्यागमनका अधिकृत छायाँलाल मोक्तान र जाँचमा खटिएका प्रहरी जवान रविरन्जन गुप्ता, प्रहरी सहायक निरीक्षक संजय तामाङसहित तीन प्रहरी कर्मचारीसँग लात्तामुक्का भएको थियो ।

उक्त विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वमा समिति समेत बनाएको थियो । समितिले असई तामाङ निलम्बन र अध्यागमन अधिकृत मोक्तानलाई त्यहाँबाट हटाउन सिफारिस गरेको थियो ।

समितिको सिफारिसप्रति विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्द असन्तुष्ट थिए । उनले सोही कारण राजीनामा नै दिएका थिए । तर प्रहरी प्रधान कार्यालयले उनको राजीनामा ‘प्रक्रिया नपुगेको’ भन्दै स्वीकृतिका लागि अगाडी बढाएको छैन ।  डीआईजी ठकुरी १० दिनको बिदामा छन् ।