FLASH NEWS

आफ्नो असफलता ढाकछोप गर्न राजालाई गाली नगरियोस्– राप्रपा अध्यक्ष लिङ्देन


नेपाल आवाज २६ माघ २०८०, शुक्रबार २१:५७ मा प्रकाशित ८६५ पाठक संख्या

उदयपुर- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दरबार हत्याकाण्डमा राजा ज्ञानेन्द्रको संलग्नता भएको प्रमाण पुऱ्याएर उनि माथी कारबाही गर्न दलहरुलाई चुनौती दिएका छन्।


उदयपुरको बेलका नगरपालिकाको रामपुरमा शुक्रबार आयोजित राप्रपा बेलका नगर समितिले आयोजना गरेको सभामा बोल्दै उनले बिना प्रमाण र आधारमा राजालाई उक्त हत्याकाण्डमा बदनाम गराउने उदेश्यले दलहरुले मुछ्ने प्रयास गरेको बताए।

‘दरबार हत्याकाण्ड भएको बेलाका प्रत्यक्षदर्शीहरु अहिले पनि जीवितै छन्, उनीहरुसँग बयान लिएर, प्रमाण जुटाएर कारबाही गरे भै गयो नि’ उनले भने। बिना प्रमाण कसैलाई बदनाम गराउने उदेश्यले जथाभावी बोल्न नहुने उनले बताए। लिङदेनले दरबार हत्या काण्डपछि कांग्रेस, एमालेले उनै ज्ञानेन्द्रलाई श्रीपेच लगाएर खुट्टामा दाम चढाएर राजा बनाएको स्मरण गर्न आग्रह समेत गरेका छन्। ‘आफैँ राजा बनाउने अनि आफैँ राजालाई हत्यारा भनेर आरोपित गर्ने ?’ उनले भने।

उनले २०४६ सालको परिवर्तनपछि एउटै पात्र र एउटै प्रवृत्तिबाट देश संचालन हुँदा देशमा विकास हुन नसकेको बताए। प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भने पनि असफल तिनै पार्टी र त्यहि नेताबाट शासनको निरन्तरताले मुलुकले प्रगति गर्न नसकेको लिङ्देनले आरोप लगाए।

लिङदेनले नेतृत्व इमानदार र देशभक्त हुन नसक्दा तिन दशकमा मुलुक बन्न नसकेको, भ्रष्टाचार र लूटतन्त्र हावी भएको बताए। पहिले कहाँ भ्रष्टाचार हुन्छ भनेर खोज्नु पर्थ्यो तर अहिले भ्रष्टाचार कहाँ छैन भन्नुपर्ने अवस्था रहेको उनले बताए। विगतको चुनावमा गरेको गल्तीको कारण अहिले जनताले दुख पाएको उनले बताए। जहिले पनि काग्रेस, एमाले र माओवादीलाई सत्तामा पुऱ्याएको कारण मुलुकको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको उनले बताए।

‘अब विगतको गल्तीलाई सच्याउँदै सहि पार्टी र नेतालाई नेतृत्वमा ल्याएर मुलुकलाई समृद्धितर्फ अघि बढाउनुपर्छ’, उनले भने। अहिलेको अवस्था आउनुमा राजनीतिक दलको मात्रै दोषी होइनन् तिनलाई मत दिने मतदाता पनि दोषी रहेको उनले गुनासो गरेका छन्। हामी राजनीतिमा विकल्प सहित आएका छौं, अब राप्रपा बाहेक अरुलाई नेतृत्व दिन नहुने लिङ्देनले बताए।

आमसभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ताद्वय भक्ति सिटौला, ज्ञानेन्द्र शाही, खुस्बु ओली लगायतले सम्बोधन गरेका थिए।