FLASH NEWS

दुर्गा प्रसाईंले फागुन १ मा काठमाडौँको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्ने


नेपाल आवाज २९ माघ २०८०, सोमबार १६:५९ मा प्रकाशित १५५५ पाठक संख्या
  • सुशील थापा

काठमाडौँ – दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, नागरिक र धर्म बचाउ अभियान’ ले फागुन १ मा काठमाडौँको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्ने भएको छ ।


प्रसाईँले यसअघि काठमाडौँको टुँडिखेलमा कार्यक्रम गर्न प्रशासनसँग अनुमतिका लागि निवेदन दिएका थिए । तर उक्त स्थान खाली नभएपछि भृकुटीमण्डपस्थित खुला चौरमा कार्यक्रम गर्न अनुमति दिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।

‘टुँडिखेल नेपाली सेनाको होल्डमा रहेछ । त्यहाँ सेनाले चिनियाँ टोलीलाई कार्यक्रम गर्न दिएको र खाली नभएकाले प्रसाईंलाई भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति दिइएको छ’,प्रमुख जिल्ला अधिकारी बस्नेतको भनाई छ ।

प्रसाईँले फागुन १ गते भ्रष्ट बिचौलिया र तस्करहरूको नाङ्गेझार गर्ने जनाएका छन् । साथै उनले कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत सहभागी गराउने दाबी गर्दै आएका छन् । अभियानको वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौँमा अभिनन्दन गर्ने भन्दै अभियानले निम्तो दिएको भए पनि पूर्वराजा शाह त्यसमा सहभागी नहुने भएका हुन् । उता, दुर्गा प्रसाईको वार्षिकोत्सव समारोहलाई छल्दै पूर्वराजा ज्ञानेन्द्र शाह चितवन प्रस्थान गरेका छन् । झण्डै २ हप्ताका लागि पूर्व राजा शाह परिवारका सदस्यसहित चितवन गएका हुन् ।

राजसंस्था फर्काउने उद्घोषसहित संघीयता खारेज गर्नुपर्ने, हिन्दुराष्ट्र कायम गर्नुपर्ने, २०४७ को संविधान लागू गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्रियकरण गर्नुपर्ने मागसहित प्रसाईंले अर्को चरणको आन्दोलन गर्न लागेका हुन्। २० लाख रुपैयाँभन्दा माथिको ऋण ४ देखि ५ प्रतिशत ब्याजदरमा दिनुपर्ने, ऋणलाई पुनर्संरचना गरी १५ वर्षसम्ममा किस्तामा बैंकको ऋण तिर्ने वातावरण बनाउनुपर्ने, सरकारको मातहतमा रहेका संघसंस्थाहरुको पुँजी बैंकमा राख्दा शून्य प्रतिशत ब्याजमा राखिनुपर्ने, निजामती कर्मचारीको तलब सुविधा १ लाख ५० हजार हुने ग्यारेन्टी गर्नुपर्ने, सर्वोच्चमा १०० जना न्यायाधीश थप गरेर सबै मुद्दाको छिनोफानो २ वर्षभित्र गर्नुपर्नेलगायतका माग पनि प्रसाईंको आन्दोलनले गर्दै आएको छ।

आन्दोलनको घोषणा गरेका प्रसाईंले फागुन १ गते पूर्व राजा शाहकै हातबाट दीप प्रज्वलन गराएर आन्दोलन थाल्ने यसअघि नै घोषणा गरेका थिए । त्यही कार्यक्रममा पूर्वराजा शाहलाई अभिनन्दन गर्न अभियानको उपत्यका समितिले विभिन्न तयारी गरेको थियो । शाहकै हातबाट द्वीप प्रज्ज्वलन गर्ने कार्यक्रम थियो । अभिनन्दनका लागि ताम्रपत्रसमेत तयार गरिसकिएको थियो । तर, प्रसाईंको आन्दोलनको पूर्वसन्ध्यामा सपरिवार पूर्व राजा चितवन लागेपछि प्रसाईं जिल्लिएका छन् । भृकुटीमण्डपको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह चितवनमा रहेकाले सहभागि/उपस्थित हुन नसकिने दरबार स्रोतको भनाइ छ ।

प्रसाईंले गत वर्षको फागुनमा पूर्व राजाकै उपस्थितिमा मेची पूलबाट राजसंस्था फर्काउने उदघोष गरेर अभियान चलाउँदै आएका थिए । प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, नागरिक र धर्म बचाउ अभियानका संयोजकसमेत रहेका प्रसाईंले केही दिनअघि पूर्वराजालाई बिन्तीपत्र पठाउँदै अभियानमा सहभागी हुन आग्रह गरेका थिए ।

उदेश्य एउटै भएकोले लक्ष्य सम्म पुग्न सबै राष्ट्रवादी,राजभक्त,राजावादी शक्तिहरु भोलि १ गते ११ बजे भृकुटीमण्डपमा राष्ट्रिय झण्डा सहित उपस्थित हुन प्रसाईंले आव्हान गरेका छन् । कार्यक्रम सव्य र भव्य  बनाउन विभिन्न उप- समितिहरू तयार पारेको उनले बताए ।

राजनीतिक दलका नेता तथा स्वतन्त्र व्यक्तित्वहरूलाई पनि बोलाइएको छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन,राप्रपा नेपालका अध्यक्ष कमल थापा,राष्ट्रिय शक्ति नेपालका संयोजक केशरबहादुर विष्ट लगायतलाई वार्षिकोत्सव कार्यक्रमकामा आउन आग्रह गरेका छन् ।

प्रसाईंको कार्यक्रमप्रति पूर्वपञ्चहरूका दल राप्रपा र राप्रपा नेपालले भने सकारात्मक प्रतिक्रिया दिएका छन्। अभियानका अध्यक्षमण्डलका सदस्य एवं कार्यक्रम विभाग प्रमुख हरि कार्कीका अनुसार, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाले कार्यक्रममा उपस्थित हुने वचन दिएका छन्। साथै, उनीहरूले कार्यक्रममा ऐक्यबद्धता पनि जनाउने बताएका छन्। राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि अहिलेको अवस्था (गणतन्त्र)लाई उल्टाउन ‘राष्ट्रवादी शक्तिहरू’ एक ठाउँमा आउनुपर्ने बताएको छ।

अभियानले सहभागीलाई भृकुटीमण्डपसम्म पुग्नका लागि ७ वटा रुट तय गरेको छ। ती सातवटै रुटका लागि नेतृत्व र व्यवस्थापन गर्न अलगअलग टोली खटाइएको छ। एउटा टोली नारायणगोपाल चोकबाट नाराजुलुससहित लाजिम्पाट हुँदै भृकुटीमण्डप पुग्नेछ। त्यस्तै अन्य टोलीहरू क्रमशः चाबहिल, कोटेश्वर–बानेश्वर, लगनखेल, बल्खु, कलंकी, कीर्तिपुर, बालाजु–नयाँ बसपार्कमा भेला भएर कार्यक्रमस्थल पुग्ने योजना बनाइएको छ।

प्रसाईंले व्यवस्था परिवर्तन गर्ने भन्दै यसअघि पहिलोपटक गत मङ्सिर ७ गते काठमाडौँको बल्खुमा कार्यक्रम गरेका थिए । त्यतिखेर केही असम्बन्धित व्यक्तिहरूको घुसपैठ भएको र केही संगठनभित्रैका मान्छेहरू बिकेको प्रसाईं सचिवालयको बुझाइ छ।

मंगलबारको कार्यक्रममा अभियानले विभिन्न चरणका प्रदर्शनका कार्यक्रम पनि सार्वजनिक गर्ने बताएको छ। पहिलाजस्तो असंगठित अवस्थामा नरहेकाले अबको कार्यक्रम नियन्त्रणबाहिर नजाने प्रसाईं सचिवालयको विश्लेषण छ।

कार्यक्रममा सहभागी बन्न उपत्यका बाहिरबाट आउनेहरूलाई विभिन्न पार्टी प्यालेसदेखि धर्मशालामा बस्ने व्यवस्था मिलाइएको छ। केहीलाई संगठनका सदस्यहरूकै घर र डेरामा पनि बस्न–बसाल्न भनिएको छ।

यो पनि पढनुहोस् : पूर्वराजा ज्ञानेन्द्र शाह चितवन जांदा तनावमा परे दुर्गा प्रसाईं