FLASH NEWS

दुर्गा प्रसाईंको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र र राप्रपाको संस्थागत सहभागिता नहुने


नेपाल आवाज १ फाल्गुन २०८०, मंगलवार ११:३९ मा प्रकाशित १०३३ पाठक संख्या
  • सुशील थापा

काठमाडौँ – दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, नागरिक र धर्म बचाउ अभियान’ ले आज फागुन १ मा काठमाडौँको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्न लागिएको छ ।


प्रसाईँले भ्रष्ट बिचौलिया र तस्करहरूको नाङ्गेझार गर्दै फोटो सहित नाम सार्वजनिक गर्ने बताएका छन्। साथै उनले कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत सहभागी गराउने दाबी गर्दै आएका थिए । अभियानको वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौँको भृकुटीमण्डपमा अभिनन्दन गर्ने भन्दै अभियानले निम्तो दिएको भए पनि पूर्वराजा शाह त्यसमा सहभागी नहुने उनको संवाद सचिवालयले जनाएको छ ।

पूर्वराजा शाह दुई दिनअघि नै चितवन पुगेका छन्। उनी चितवनको विभिन्न धार्मिक स्थलको भ्रमणका साथसाथै शुभेच्छुकहरूसँग भेटघाटमा व्यस्त छन् । चितवनमा नै पूर्वराजाको पूर्वनिर्धारित कार्यक्रम रहेकाले उनी प्रसाईंको कार्यक्रममा सहभागी नहुने निश्चित रहेको सचिवालयको भनाइ छ।

यसका साथै राप्रपाको संस्थागत पनि सहभागिता नरहने भएको छ । यस्तै प्रसाईँले राजतन्त्र फर्काउनका लागि फागुन १ मा कार्यक्रम गरेर आन्दोलन समेत गर्ने भनेर राप्रपाका नेताहरुसँग समर्थक जुटाउने प्रयास गरेपनि असफल भएका छन् ।प्रसाईँले सोहीअनुसार सोमबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर समर्थन खोजेका थिए । यस्तै उनले कार्यक्रममा समेत सहभागी हुन आग्रह गरेपनि उनले अस्वीकार गरेका थिए ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले प्रसाईंको कार्यक्रम र आन्दोलनमा पार्टीको संस्थागत सहभागिता नरहेको बताए । उनले अध्यक्ष लिङ्देन मंगलबार आयोजित प्रसाईंको कार्यक्रममा सहभागी हुने कुनै कार्यक्रम नभएको स्पष्ट पारे । अहिलेकै अवस्थामा संस्थागत सहभागिता नरहेपनि राजतन्त्र फर्काउने आन्दोलनमा नैतिक समर्थन भने रहने उनको भनाइ थियो ।

तर अर्को राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले भने प्रसाईंका पछिल्लो गतिविधिलाई पार्टीले सकारात्मक रुपमा लिएको टिप्पणी गर्दै आएका छन् । हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाएकाले व्यवसायी प्रसाईंका पछिल्लो गतिविधिलाई आफूहरुले सकारात्मक रुपमा लिएको उनको भनाई छ । अध्यक्ष थापाले अहिलेको अवस्था (गणतन्त्र)लाई उल्टाउन ‘राष्ट्रवादी शक्तिहरू’ एक ठाउँमा आउनुपर्ने बताएका छन् । यस्तै केही हिन्दुवादी संगसंगठन र राप्रपाकै केही नेताहरुले पनि व्यक्तिगत रुपमा प्रसाईंलाई सघाउने बताउँदै आएका छन् ।

प्रसाईंले राजसंस्था फर्काउने उद्घोषसहित संघीयता खारेज गर्नुपर्ने, हिन्दुराष्ट्र कायम गर्नुपर्ने, २०४७ को संविधान लागू गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्रियकरण गर्नुपर्ने मागसहित प्रसाईंले अर्को चरणको आन्दोलन गर्न लागेका हुन्। २० लाख रुपैयाँभन्दा माथिको ऋण ४ देखि ५ प्रतिशत ब्याजदरमा दिनुपर्ने, ऋणलाई पुनर्संरचना गरी १५ वर्षसम्ममा किस्तामा बैंकको ऋण तिर्ने वातावरण बनाउनुपर्ने, सरकारको मातहतमा रहेका संघसंस्थाहरुको पुँजी बैंकमा राख्दा शून्य प्रतिशत ब्याजमा राखिनुपर्ने, निजामती कर्मचारीको तलब सुविधा १ लाख ५० हजार हुने ग्यारेन्टी गर्नुपर्ने, सर्वोच्चमा १०० जना न्यायाधीश थप गरेर सबै मुद्दाको छिनोफानो २ वर्षभित्र गर्नुपर्नेलगायतका माग पनि प्रसाईंको आन्दोलनले गर्दै आएको छ।

प्रसाईंको राजतन्त्र फर्काउने एजेण्डा भएपनि राप्रपा भने संस्थागत रुपमा उनको गतिविधिप्रति सशंकित बन्दै आएको छ ।

प्रसाईंले व्यवस्था परिवर्तन गर्ने भन्दै यसअघि पहिलोपटक गत मङ्सिर ७ गते काठमाडौँको बल्खुमा कार्यक्रम गरेका थिए । त्यतिखेर केही असम्बन्धित व्यक्तिहरूको घुसपैठ भएको र केही संगठनभित्रैका मान्छेहरू बिकेको प्रसाईं सचिवालयको बुझाइ छ। मंगलबार (आज )को कार्यक्रमले विभिन्न चरणका प्रदर्शनका कार्यक्रम पनि सार्वजनिक गर्ने बताएको छ। पहिलाजस्तो असंगठित अवस्थामा नरहेकाले अबको कार्यक्रम नियन्त्रणबाहिर नजाने प्रसाईं सचिवालयको विश्लेषण छ।