FLASH NEWS

पूर्वसैनिकसचिव शाहको दोस्रो पुस्तक ‘दरबारबाट देखेको नेपाल’ सार्वजनिक


नेपाल आवाज १२ फाल्गुन २०८०, शनिबार २२:४६ मा प्रकाशित ९८५ पाठक संख्या

काठमाडौं – पूर्वसैनिकसचिव एवं शाही पार्श्ववर्ती विवेकुमार शाहको दोस्रो पुस्तक ‘दरबारबाट देखेको नेपाल’ सार्वजनिक गरिएको छ ।
शाहको पहिलो पुस्तक ‘मैले देखेको दरबार’ ०६७ सालमा प्रकाशित भएको थियो ।


शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा शाहले दरबारमा शाही पार्श्ववर्तीदेखि सैनिकसचिवसम्मको भूमिकामा रहँदा देखेका, भोगेका घटनाक्रमलाई पुस्तकमा समेटेको बताए । ‘दरबारबाट देखेको नेपाल’, ‘छोटो जीवनको लामो यात्रा’ र ‘जीवन एक अनुभूति अनेक’ गरी तीन खण्ड गरेर शाहले पुस्तकमा आफ्नो अनुभव समेटेका छन् ।

लोकार्पण कार्यक्रममा वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले पुस्तकको समीक्षा गरे । शाहले पुस्तकमा दरबारभित्रको अनुभव मात्र नभएर नेपाल र भारतबीचको तिक्ततापूर्ण सम्बन्ध र चीनलाई चिन्न नसकेको विषय पनि गम्भीर ढंगले उठाएको उनले जनाए ।
दोस्रो पुस्तकमार्फत दरबारभित्रका थप आयाम खुलाउँदै आफ्नो जीवन अनुभवबाट मान्छेलाई सन्देश दिने प्रकारले लेखिएको अधिकारीले टिप्पणी गरे ।

कार्यक्रममा संविधानविद् विपिन अधिकारी, पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक डा. गोविन्दबहादुर थापा र पूर्वसचिव द्वारिकालाल ढुंगेलले पनि पुस्तकबारे चर्चा गरेका थिए ।

पूर्वरथी शाहले साढे ३५ वर्ष नेपाली सेनामा रही ३० वर्ष राजदरबारको सेवामा बिताएका थिए । राजा वीरेन्द्र, रानी ऐश्वर्य, पूर्वराजा ज्ञानेन्द्रदेखि राजपरिवारका सदस्यबारे आफूले गरेको अनुभव उनले पुस्तकमा समेटेका छन् । माओवादीको सशस्त्र विद्रोहदेखि पूर्वराजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछिका घटनाक्रम र राजतन्त्र अन्त्य हुँदासम्मका विषय उनले उल्लेख गरेका छन् ।

सांग्रिला बुक्सबाट प्रकाशित ३५० पृष्ठको पुस्तकको मूल्य ७७५ रुपैयाँ राखिएको छ ।