FLASH NEWS

मिटरब्याजपीडित र सरकारबीच आज दोस्रो चरणको वार्ता हुँदै


नेपाल आवाज १४ फाल्गुन २०८०, सोमबार ०८:३५ मा प्रकाशित ७३३ पाठक संख्या

काठमाडौं – सरकार र मिटरब्याजपीडितबीच आज पनि वार्ता हुने भएको छ । पहिलो चरणमा हिजो साँझ भएको वार्तामा ठोस कुरा नै नभएपछि आज पुन: छलफल गर्ने सहमति भएको छ । गृह मन्त्रालयमा आज बिहान ११ बजे सरकार र मिटरब्याजपीडितबीच वार्ता हुने छ । २३ दिन हिँडेर पैदलै काठमाडौं आइपुगेकाे पाँच दिनपछि हिजो पहिलो चरणमा उनीहरुसँग वार्ता गर्न गृह मन्त्रालयले अग्रसरता देखाएको हो । हिजोको वार्तामा मिटरब्याजपीडितहरुले सरकारलाई माग सुनाएका थिए ।


वार्ता टोलीमा पीडितको नेतृत्व गरेका मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहले अहिले भएका कानुनी व्यवस्था मिटरब्याज पीडितको समस्या समाधानका लागि पर्याप्त नभएको बताएका छन् । पीडितहरुले समस्या समाधानका लागि न्यायिक आयोग गठन गर्नुपर्ने र दीर्घकालीन समस्या समाधान गर्न उचित कानुनी व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

त्यसो त मिटरब्याजपीडितहरु पहिलो पटक आन्दोलनमा उत्रिएका हैनन् । यसअघि देशभरका मिटरब्याजपीडित काठमाडौंमा आएर आन्दोलन गरेपछि सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग बनाएको थियो । आयोगले पीडितसँग निवेदन आह्वान गर्दा २८ हजार उजुरी परेका थिए । तर तीमध्ये आयोगले ५ हजारको मात्र मिलापत्र गराएको थियो ।