FLASH NEWS

धादिङमा अबैध रुपमा लगाइएको अफिम खेती नष्ट ( हेर्नुहोस् तस्बिर)


नेपाल आवाज १४ फाल्गुन २०८०, सोमबार १३:४९ मा प्रकाशित ४८७३ पाठक संख्या

मलेखु – धादिङमा अवैध रुपमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको छ।


जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं. १ स्थित बासखर्क‚ सिमटार‚ जरुङ‚ सुन्दरनागी‚ थामभञ्ज्याङ‚ लामाटार‚ ब्रुम्दी लगायतका विभिन्न ठाउँमा लगाइएको लागुऔषध अफिम खेती जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम कुमार के.सी.,ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक मदन बहादुर कुँवर र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म धादिङबाट नायब निरीक्षक कन्हेया यादव सहितको ८५ जना खटिएको संयुक्त टोलीले  नष्ट गरेको हो।

करिब १००० रोपनी क्षेत्रफलमा अफिम खेती भएको जानकारी पाएलगत्तै उक्त क्षेत्रमा प्रहरी उपरीक्षक के.सी सहितको संयुक्त टोलीले अफिमको व्याड‚ बेर्ना खेती फडानि तथा नष्ट गरेको हो।

लागूऔषध अफिम महँगो मुल्यमा बिक्री हुने भएकाले स्थानीयवासी अफिमको खेती गर्छन्। नियमित अन्नबालीको खेतीभन्दा अवैध अफिम खेतीमा कम लगानी र परिश्रम पनि धेरै गर्नु नपर्ने भएकाले स्थानीयले जोखिम मोलेर भए पनि यसको खेती गर्दै आएका छन्।

यतिबेला अफिमले फुल खेल्न थालेको र यहि मौकामा अफिम पनि संकलन गरिने भएको हुँदा प्रहरीले गाउँगाउँमा प्रहरी परिचालन गरी नष्ट गरिरहेको छ ।

जिल्लाका विभिन्न ठाँउहरुमा अवैध रुपमा भैरहेको अफिम खेती नष्ट गर्ने अभियानलाई तिब्रता दिइने धादिङका प्रहरी उपरीक्षक गौतम कुमार के.सीले जानकारी दिए । यसबारेमा थप अनुसन्धान गर्ने काम पनि भइरहेको उनले बताए।

कतिपय किसानले अफिम खेती गैरकानुनी हो भन्ने थाहा नपाएकाले जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको प्रहरी उपरीक्षक के.सी बताउँछन्। उनले भने, ‘अफिम खेती हुने क्षेत्रमा जनचेतना जगाउनुपर्छ। नियन्त्रणको प्रमुख उपाय यही हो।’

विगतमा गाँजा खेती मात्र हुने गरेको क्षेत्रमा पछिल्ला वर्षमा अफिम खेती बढ्दै गएको छ  । धादिङका पहाडी र विकट स्थान ,मकवानपुरको पश्चिमी क्षेत्रसँगै चितवन पछि रौतहट, उदयपुर, दाङ, जाजरकोट, सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिमलगायत जिल्लाहरुमा अहिले अफिम खेती हुने गरेको छ।