FLASH NEWS

किसानलाई दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन


नेपाल आवाज १५ फाल्गुन २०८०, मंगलवार १३:४५ मा प्रकाशित ८२३ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन निर्देशन दिएका छन् ।


सोमबार अर्थमन्त्री डा प्रकाशशरण महत, कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसाल र मुख्यसचिव डा बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर किसानको दूधको बाँकी भुक्तानी तत्कालै दिन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानले पाउनुपर्ने भुक्तानी पनि तुरून्त दिन र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा प्रधानमन्त्रीले किसानले महिनौँसम्म दूधको भुक्तानी नपाउनुको कारणबारे चासो राखेका थिए । साथै उनले भुक्तानी नपाउने अवस्थालाई गम्भीरतापूर्वक लिन र त्यसैअनुसार संस्थान तथा निजी क्षेत्रबाट गर्नुपर्ने आवश्यक सहजीकरण गर्न पनि निर्देशन दिएको सचिवालयले जनाएको छ ।

दूध उत्पादकसहित विभिन्न १५ वटा किसान सङ्गठन अहिले आन्दोलनमा छन् ।