FLASH NEWS

‘मिटरब्याजपीडितका समस्या पूर्णतया समाधान गर्न सरकार र अदालतको समन्वय जरुरी’


नेपाल आवाज १६ फाल्गुन २०८०, बुधबार १५:५६ मा प्रकाशित ७४५ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजपीडितका समस्या पूर्णतया समाधान गर्न सरकार र अदालतको समन्वयमा मात्रै गर्न सकिने बताएका छन् ।


बुधबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले पीडितका समस्या समाधान गर्ने केही प्रयास भएपनि त्यो पूर्ण नभएको र त्यो अदालती प्रक्रियाबाट समाधान गर्नुपर्ने प्रकृतिका रहेको बताए ।

उनले भने, ‘बाँकी रहेको समस्या सरकारको कारणभन्दा अदालती प्रक्रियाबाट समाधान गर्नुपर्ने प्रकृतिको छ, किनभने मिटरब्याजको समस्या जटिल र गहिरो अनि आर्थिक मात्र नभएर सामाजिक, सांस्कृतिक समस्या पनि रहेछ ।’

उनले मिटरब्याज, लघुवित्त र सहकारी पीडितको आवाज उठिरहेका सबैलाई थाहा भएको र त्यसको समाधानका लागि पहिला आयोग बनाएको तथा ऐन समेत बनाइएर पनि समाधानको प्रयास गरेपनि केही समस्या अझै बाँकी नै रहेको बताए ।

उनले भने, ‘सोझासीधा गरिबहरुले पहिल्यै राजीनामा गरेर जग्गा दिएका हुन्छन् । तिनीहरुसँग केहीपनि प्रमाण हुँदैन । त्यसकारण हामीले गम्भीर रुपले यसको गहिराइलाई र प्रकृतिअनुसार सरकार र अदालत मिलेर गर्न सकिन्छ भनेर समन्वय गर्ने कोसिस भइरहेको छ ।’

उनले तत्कालका लागि मिटरब्याज, लघु र सहकारी पीडितसँग वार्ता भइरहेको पनि प्रस्ट पारे । मिटरब्याजपीडितहरुको समूह पूर्वको झापा र पश्चिमको महेन्द्रनगरबाट २३ दिन पैदल हिँडेर काठमाडौं आएर आन्दोलन गरिरहेको छ ।