FLASH NEWS

सत्ता गठबन्धन खरानीको डल्लो हो, जुनसुकै बेला फुट्न सक्छ : ओली


नेपाल आवाज १६ फाल्गुन २०८०, बुधबार २०:१३ मा प्रकाशित ११२९ पाठक संख्या

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन कुनैपनि बेला फुट्न सक्ने बताएका छन् । गठबन्धनलाई खरानीको डल्लोको रुपमा चित्रण गर्दै उनले ‘त्यो सुक्यो भने पनि फुट्ने र भिज्यो भने पनि फुट्नसक्ने’ टिप्पणी गरे ।


बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले आफूहरुले दिएको सुझाव नसुनेर सरकारले दम्भ देखाइरहेको आरोप समेत लगाए ।

अध्यक्ष ओलीले सत्तारुढ प्रमुख घटक कांग्रेस प्रतिगामी सोचका साथ अघि बढिरहेको आरोप लगाए । उनले कांग्रेस महासमिति बैठकले संविधान संशोधनको कुरा गरेपनि सम्भव नभएको बताए । ‘कांग्रेसले महासमिति बैठकबाट संविधान संशोधन गर्ने भनेछ । तर अहिले कांग्रेस एक्लैले संविधान संशोधन गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘कांग्रेस प्रतिगामी ढंगले अघि बढिरहेको छ ।’

उनले सरकारले एमालेले दिएको सुझाव र खबरदारीलाई समेत बेवास्ता गरेको आरोप लगाए । ‘नेकपा एमालेसँग मेजरिटी छैन । हामी सरकारभन्दा बाहिर छौं । प्रतिपक्षमा छौं । त्यसकारण हामीले सुझाव दिने हो । त्यो सुझाव त अब गठबन्धनको दम्भले सुनिराखेको छैन,’ ओलीले भने, ‘गठबन्धन भनेर धेरै दम्भ नदेखाए हुन्छ । यो गठबन्धन ५ वर्षसम्म जान्छ कि जाँदैन ? म भन्न सक्दिन । किनभने यो खरानीको डल्लो हो । यो सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ ।’