FLASH NEWS

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान


नेपाल आवाज १७ फाल्गुन २०८०, बिहीबार ०८:५२ मा प्रकाशित १२०१ पाठक संख्या

चितवन – चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि टेण्डर आह्वान भएको छ । भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको रंगशाला पूर्वाधार निर्माणका लागि टेण्डर आह्वान गरिएको हो ।


भरतपुर महानगरपालिकाले ३० दिनको म्याद राखेर एक अर्ब १० करोडको ठेक्का आह्वान गरेको छ । थप १० हजार क्षमताको प्याराफिटसहित मैदानलगायतका भौतिक पूर्वाधार निर्माणका लागि ३० महिनाभित्र काम गरिसक्ने गरी टेण्डर निकालिएको बताइएको छ ।
यसअघि गत माघ २३ गते बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि आवश्यक ७५ करोड रुपैयाँको ७० प्रतिशत अर्थात ५२ करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । बाँकी रकम भरतपुर महानगरपालिकाले खर्च गर्ने छ ।
संघीय सरकारसँग पनि रंगशाला निर्माणका लागि रकम माग गरिएको महानगरपालिकाले जनाएको छ ।

संघीय मन्त्रिपरिषद्को गत कात्तिक २३ गते बसेको बैठकले गौतम बुद्ध क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको परियोजनाभित्र समेटेर बाँकी काम तीनै तहका सरकारहरु मिलेर पूरा गर्ने निर्णय गरेको थियो ।

धुर्मस सुन्तली फाण्डेशनले बनाउन सुरु गरेको रंगशाला बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट पूर्णरूपमा काम रोकिएको थियो ।