FLASH NEWS

पक्राउ परेका लघुबित्त पीडित महिला भए रिहा


नेपाल आवाज १७ फाल्गुन २०८०, बिहीबार १०:३९ मा प्रकाशित ९३१ पाठक संख्या

काठमाडौं- संसद् भवनभित्र छिरेर नारावाजी गर्ने क्रममा पक्राउ परेका दुई दर्जनबढी लघुबित्त पीडित महिला रिहा भएका छन् ।


सोमबार नारा लगाउँदै संसद् परिसरबाहिर पुगेका लघुबित्त पीडितहरू बन्द रहेको गेट धकेलेर संसद् परिसरभित्र छिरेर नारावाजी गर्ने क्रममा पक्राउ परेका उनीहरू बुधबार राति रिहा भएका हुन् ।

देशभरबाट आन्दोलनका लागि काठमाडौं भेला भई लघुवित्त पीडितहरू संसद् बैठक चलिरहेको बेला उनीहरू त्यहाँ पुगेर नाराबाजी गरेका थिए ।

सोमबार संसद् भवन वरिपरी नारा लगाउनेमा भवनभित्र र बाहिर गरी ४९ जना पीडित थिए । जसमा ४८ जना महिला र एक पुरुष रहेका थिए । पक्राउ परेकालाई सरकारले प्रहरी नियन्त्रणमै राखेर मुद्दा चलाउने तयारी गरेको थियो ।

यता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लघुवित्त पीडितहरूलाई मुद्दा चलाउनु बेठिक हुने भन्दै उनीहरूलाई बिना शर्त रिहा गर्न गृहमन्त्रीलाई आग्रह गरेको थियो । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले सचेतक महेश बर्तौलाले लघुवित्त पीडितहरू न्यायको लागि आन्दोलनरत रहेका समेत बताएका थिए ।

देशका विभिन्न स्थानबाट न्याय माग्न हिँडेर काठमाडौं आएका लघुवित्तपीडित अहिले गौशालाको भण्डारखाल जाने गेटको छेउमा रहेको खाली ठाउँमा बसेका छन् ।