FLASH NEWS

कोशी प्रदेश नामकरणको विरोधमा काठमाडौंमा प्रदर्शन


नेपाल आवाज १७ फाल्गुन २०८०, बिहीबार १८:२६ मा प्रकाशित ६१९ पाठक संख्या

काठमाडौं – कोशी प्रदेशको नाम खारेजीको माग गर्दै पहिचानवादीले काठमाडौंमा प्रदर्शन गरेका छन् । प्रदेश १ को नाम कोशी नामकरण गरेर आदिवासी जनजातिको पहिचान नामेट गरेको भन्दै प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले बिहीबार तीनकुनेमा विरोध प्रदर्शनसहित सभा गरेको हो ।


नेपाल आदिवासी जनजाति महासंघ, प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिलगायतका संस्थाको आयोजनामा प्रदर्शन गरिएको हो ।

प्रदर्शनका क्रममा कालो झन्डासहित प्रदर्शनकारीले ‘पहिचानविरोधी होसियार’, ‘कोशी प्रदेश खारेज गर’, ‘पहिचानको आधारमा सबै प्रान्तको नामकरण गर’, ‘संघीयता पुनः सीमांकन गर’लगायतका नारा लगाएका थिए । उनीहरूले प्रदेश १ को पहिचान मेट्ने काम गत वर्ष फागुन १७ गते भएको भन्दै यस दिनलाई कालो दिनका रूपमा मनाएको जनाएका छन् ।

सभामा बोल्दै जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले प्रदेश नम्बर १ को पुनः नामांकन गराइछाड्ने दाबी गरे ।