FLASH NEWS

मन्त्रीहरुको काममा प्रधानमन्त्री ‘प्रचण्ड’ नै असन्तुष्ट


नेपाल आवाज १७ फाल्गुन २०८०, बिहीबार १८:३५ मा प्रकाशित ८८९ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अवस्थाबाट समीक्षा गर्दा सन्तोष लिन सकिने ठाउँ नदेखिएको बताएका छन् ।


आज (बिहीबार) सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०८०/०८१ को सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको समीक्षा कार्यक्रममा बोल्दै उनले स्थिति अझै जटिल बन्दै गएको बताएका हुन् ।

‘हामीले नीति, कार्यक्रम र बजेटको समीक्षा गर्दा सन्तोष लिने ठाउँ देखिएन । स्थिति अझै पनि चुनौतिपूर्ण नै छ । मननीय मन्त्रीज्यूहरुले राखेको कुराले पनि स्थिति जटिलनै छ भन्ने देखाएको छ,’– उनले भने ।

आफूले सरकारको नेतृत्व सम्हाल्दै गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा नयाँ संकल्पको साथ काम गर्नुपर्छ भनेर अगाडि बढेको स्मरण गराउँदै उनले झडै एक वर्षसम्म ठीकै ढंगले गएपनि समीक्षासम्म आउँदा सबैमा बेचैनीको अवस्था आएको बताए ।

उनले सरकार जोवन धान्ने र काल पर्खिनेजस्तो हुन नहुने बताए । जनतालाई डेलिभरी दिने र विकासका क्षेत्रमा पनि केही गरेर देखाउने संकल्पका साथ अगाडि बढेको सरकार अहिलेको अवस्थामा आइपुग्दा बेचैनीमा परिणत भएको उनको भनाइ छ । आलु आवमा पुँजीगत खर्च २४ प्रतिशतभन्दा कम भएको उनले बताए । पुँजी निर्माण नभई विकासले गति नलिने उनले बताए ।

‘म के भन्न चाहन्छु भने मेरो दिमागभित्र अलि बेचैनी बढेको छ । जोवन धान्ने र काल पर्खिनेजस्तो त सरकार हुन हुँदैन । हामीले परिणाम दिने, जनतालाई सेवा र विकासको दृष्टिकोणले पनि केही गरेर देखाउँछौं भनेर अगाडि बढेको हो । तर, परिणाम त्यस्तो भइराखेको छैन । यसले हामी सबैको मुख्यसचिवदेखि सबै सचिवहरुको पनि दिमागमा बेचैनी बढेकोजस्तो महशुस मैले गर्छु । मेरो बढेर अरुको पनि बढेको देखेको हो कि ? चैन भएकोजस्तो देखिएको छैन । परिस्थिति अलिबढी जटिल र चुनौतिपूर्ण देखिएको छ,’– प्रधानमन्त्री प्रचण्डले भने ।