FLASH NEWS

वाफ वुमन्स च्याम्पियनसिप २०२४ को उपाधि जोर्डनलाई


नेपाल आवाज १८ फाल्गुन २०८०, शुक्रबार ००:१९ मा प्रकाशित १२८५ पाठक संख्या

काठमाडौं – वाफ महिला च्याम्पियनसिप २०२४ को उपाधि जोर्डनले जितेको छ ।


साउदी अरबको जेद्दाह स्थित प्रिन्स अब्दुलाह अल–फैजल स्पोर्टस सिटी स्टेडियममा विहीबार सम्पन्न फाइनलमा नेपाललाई टाइब्रेकरमा पराजित गर्दै जोर्डन छैटौं पटक उपाधि जित्न सफल भएको हो ।

आमन्त्रित टोलीको रुपमा वाफ खेल्न पुगेको नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो । खेलको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । खेलको २९औं मिनटमा सबिता राना मगरको गोलबाट अग्रता बनाएको नेपालले त्यो अग्रता कायम राख्न सकेन ।

७३औं मिनटमा लाना फेराजले जोर्डनका लागि बराबरी गोल फर्काईन् । त्यस्तै ८९औं मिनटमा सराह अबु–सबाले जोर्डनका लागि दोस्रो गोल गरिन् ।

तर, जोर्डनले पनि त्यो गोलको खुशी धेरैबेर मनाउन सकेन । इन्जुरी समयमा नेपालले पेनाल्टीको अवसर पायो । जसलाई गीता रानाले कुनै गल्ती नगरी गोलमा परिणत गरिन् ।

निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएपछि टाईब्रेकरमा भने जोर्डनले नेपालमाथि ५–३ को नतिजा निकाल्दै उपाधि रक्षा गर्न सफल भयो । अमृता जैसीको पेनाल्टी प्रहार विपक्षी गोलरक्षकले जोगाएपछि नेपाल निराश बन्न पुग्यो ।