FLASH NEWS

आर्मीलाई पाँचथर गोल्डकपको उपाधि


नेपाल आवाज १९ फाल्गुन २०८०, शनिबार २०:३५ मा प्रकाशित १५४९ पाठक संख्या

पाँचथर – त्रिभुवन आर्मी फुटबल क्लब पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आर्मीले आयोजक पाँचथर क्लबलाई शनिबार भएको फाइनल खेलमा ४-२ गोलअन्तरमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।


पाँचथरको मैदानमा आर्मी पहिलोपटक च्याम्पियन बनेको हो । २०७४ सालमा भएको दशौँ फाल्गुनन्द गोल्डकपमा उपविजेता बनेको आर्मी ६ वर्षपछि फाइनलमा आर्मी विजेता बनेर फर्कियो। आर्मीलाई जित दिलाउन कप्तान दिपकुमार लामा, पदम तामाङ र सन्तोष केसी गोल गरे । आर्मीको जितमा कप्तान दिप लामाले २ गोल गरे ।

३१औं मिनेटमा आर्मीका पदम तामाङले रिबाउन्ड बललाई वानटच प्रहारमा गोल गरेर आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३९औं मिनेटमा पाँचथरका दिनेश शेर्माको पासमा आशीष चापागाइले गोल गर्दै बराबरी गोल फर्काएका थिए ।

दोश्रो हाफको ७औं मिनेटमा पाँचथरका प्रशान्त लक्समले गोल गर्दै पाँचथरलाई २-१ को अग्रता दिलाएका थिए । तर, पाँचथरको अग्रता लामो समय टिक्न सकेन । ५३औं मिनेटमा आर्मीका सन्तोष केसीले फ्रिकिकमार्फत गोल गर्दै खेललाई बराबरी गरेका थिए ।

पाँचथरका लागि आशिष चापागाईले फाउल गरेपछि आर्मीले फ्रिकिक पाएको थियो । ६१औं मिनेट र ६९औ मिनेटमा आर्मीका दिपकुमार लामाले गोल गर्दै आर्मीको जित निश्चित पारे ।

फाइनल खेलको म्यान अफ दी म्याच आर्मीका पदम तामाङ घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे । उत्कृष्ट डिफेन्डर आर्मीका बसन्त तामाङ, उत्कृष्ट गोलकिपर आर्मीका नबिन तामाङ, उत्कृष्ट मिड फिल्डर आर्मीका रुपेश क्षेत्री, उत्कृष्ट प्रशिक्षक आर्मीका आदर्श मल्ल घोषित भए । उत्कृष्ट सबैले समान १० हजार प्राप्त गरे ।

खेलको सर्वोकृष्ट खेलाडी पाँचथरका रोशन आङदेम्बे बने । प्रतियोगिताको उदीयमान खेलाडी आयोजक पाँचथर क्लबका मनिष क्षेत्री बने । सर्वोकृष्ट खेलाडी र उदीयमान खेलाडीले समान १५ हजार प्राप्त गरे ।

मुमिन नेम्बाङ खेलको फ्यान अफ दि म्याच भए । सुटआउट हिरो खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तान भए । दुबैले समान २ हजार ५ सय रुपैयाँ प्राप्त गरे । प्रतियोगिता अवधिभर सबै खेल हेरेर ७२ वर्षीय नरेन्द्रकुमार सम्बाहाम्फे फ्यान अफ दि टुनामेन्ट बन्दै २ हजार ५ सय रुपैयाँ पाउन सफल भए ।

विजेता आर्मीले उपाधिसहित ५ लाख ५ हजार र दोस्रो हुने टोलीले २ लाख ५५ हजार रुपैयाँ प्राप्त गरेका छन् । विजेता टिम र खेलाडीलाई प्रदेशसभा सांसद मैया श्रेष्ठ लावती, फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले, उपमेयर राधाकृष्ण न्यौपाने र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानले पुरस्कार ट्रफी र मेडल प्रदान गरे ।

प्रतियोगिताको फाइनल खेलमा पुख्यौली घर पाँचथर भएका यु २३ का खेलाडी प्रशान्त लक्समलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।