FLASH NEWS

‘शालिन पोखरेल मृत्यु घटनाको यथार्थ छानबिन गरी परिवारलाई न्याय दिलाउन सरकार दृढ छ’


नेपाल आवाज १९ फाल्गुन २०८०, शनिबार २१:४२ मा प्रकाशित १४५९ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको एकता शिशु निकेतनकी छात्रा शालिन पोखरेलको मृत्युको घटना यथार्थ छानबिन गरी परिवारलाई न्याय दिलाउन सरकार दृढ रहेको बताएका छन् ।


शनिबार राति सामाजिक संजालमार्फत प्रधानमन्त्रीले सरकारले घटनाको सत्यतथ्य पत्ता लगाउन यसअघि नै गृह मन्त्रालयलाई निर्देशन दिइसकेको भन्दै परिवारलाई न्याय दिलाउन सरकार दृढ रहेको बताएका हुन् ।

प्रधानमन्त्रीले भनेका छन्, ‘चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत अवस्थामा फेला परेकी १४ वर्षीय बालिका शालिन पोखरेलको मृत्युले मलाई गम्भीर र दुःखी तुल्याएको छ। घटनाको गहन छानबिन गरी सत्यतथ्य पत्ता लगाउन मैले यसअघि नै गृह मन्त्रालयलाई निर्देशित गरिसकेको छु। घटनाको यथार्थ छानबिन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिवद्ध छ।’

अनुसन्धानमा प्रभाव पार्ने सामग्री सम्प्रेषण नगर्न चितवन प्रहरीको अनुरोध

जिल्ला प्रहरी कार्यालयले चितवनले केही दिनअघि रत्ननगर नगरपालिका वडा नं १० मा रहेको एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्राको मृत्यु घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको भन्दै अनुसन्धानमा प्रभाव पार्ने कुनै पनि विषयवस्तु सम्प्रेषण नगर्न आग्रह गरेको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले शनिबिार विज्ञप्ति जारी गरी अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदनहरू हालसम्म प्राप्त नभएको अवस्थामा अनुसन्धानमा प्रभाव पर्ने गरी कुनै पनि विषयवस्तु सम्प्रेषण नगरीदिन आग्रह गरेका हुन् ।

विज्ञप्तिमा घटनाबारे गम्भीररूपमा अनुसन्धान भइरहेको पनि उल्लेख छ  ।“विद्यालयको होस्टलका अन्य साथीसहित बस्ने कोठाको सिलिङ पङ्खामा डोरीको पासो लगाई झुण्डी छात्राको मृत्यु भएको घटनाबारे जानकारी प्राप्त हुनासाथ तत्काल वरिष्ठ प्रहरी अधिकृतको कमाण्डमा घटनास्थल विशेषज्ञसहितको अनुसन्धान टोली घटनास्थलमा खटी घटनास्थल र मृतक शवको सुक्ष्म अवलोकन गरी प्रारम्भिक चरणका अनुसन्धानका काम सम्पन्न गरी हाल सो घटनाको गम्भीररूपमा थप अनुसन्धान भइरहेको छ”, विज्ञप्तिमा भनिएको छ ।

बालबालिकाको मृत्युजस्तो संवेदनशील विषयलाई अत्यन्त गम्भीर्यताका साथ लिई प्रचलित कानुनले निर्दिष्ट गरेबमोजिम नेपाल प्रहरीले आफ्नो पेसागत मूल्य, मान्यता, दक्षता र विवेक प्रयोग गरी अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । “घटनाबारे वैज्ञानिक प्रयोग तथा प्राविधिक विश्लेषणसमेतका आधारमा तथ्यपरक वस्तुनिष्ठ अनुसन्धान गरिने पीडित परिवार र सम्पूर्णमा विश्वास दिलाउँछौँ”, प्रहरीले भनेको छ ।

प्रहरीले घटनाको तथ्यपरक वस्तुनिष्ठ अनुसन्धान जारी रहेको अवस्थामा यसै घटनालाई लिई विभिन्न सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सम्प्रेषित विषयवस्तुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएकोसमेत उल्लेख गरेको छ ।