FLASH NEWS

बालेनविरुद्ध सडकमा उत्रिए नेपाल रिकलेक्टर्स एण्ड रिसाइक्लर्स एशोसिएसन


नेपाल आवाज २० फाल्गुन २०८०, आईतवार १८:३१ मा प्रकाशित ९३७ पाठक संख्या

काठमाडौं – काठमाडौं महानगरपालिकाविरुद्ध नेपाल रिकलेक्टर्स एण्ड रिसाइक्लर्स एशोसिएसनले आज (आइतबार) प्रदर्शन गरेको छ ।


कवाडी व्यवसायीहरुमाथि दमन गरेको भन्दै आइतबार कवाडी व्यवसायीहरुले महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको कार्यालय राष्ट्रिय सभा गृह अगाडि विरोध र्‍याली निकालेका हुन् ।

र्‍यालीमा सहभागीहरुले ‘कानुनी शासन लागू गर’, ‘अनधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गर’, ‘अदालतको निर्णयको सम्मान गर’, ‘गरिबलाई गरिखान देऊ’, महानगरको आतंक बन्द गर’जस्ता नारा लगाएका थिए ।

केही दिनअघि काठमाडौं मलअगाडि र सुन्धारा क्षेत्रमा फुटपाथ व्यवसायीहरूमाथि नगर प्रहरीले आक्रमण गरेर केहीलाई गम्भीर घाइते बनाएका थिए ।

सरकारी निकायमा दर्ता भएर कर समेत तिरिरहेका व्यवसायमाथि दमन गरिएको भन्दै मेयर बालेन्द्रविरुद्ध नाराबाजी भएको हो ।

उनीहरुले बुद्धनगरस्थित युएन पार्कदेखि त्रिपुरेश्वर, सुन्धारा हुँदै रत्नपार्कसम्म र्‍यालीसहित विरोध प्रदर्शन गरे। रत्नपार्कमा पुगेर विरोध र्‍याली सभामा परिणत भएको थियो।

संघीय संसद किरनकुमार साहले काठमाडौ महानगर प्रमुख बालेन्द्र साह (बालेन) ले कवाडीहरुमाथि गरिरहेको ज्यादती नरोकिएमा काठमाडौँ नै छोड्नु पर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन् । सांसद साहले आन्दोलनलाई सिङ्गो नेकपा एमाले पार्टीले साथ सहयोग समर्थन गर्ने प्रतिवद्धता जनाएका छन् ।

महानगरको हस्तक्षेविरुद्ध गरिएको प्रदर्शनलाई सम्बोधन गर्दै सांसद साहले देशमा हरेक नागरिकले बिना रोकतोक व्यापार व्यवसाय गर्ने वातावरण निर्माण गर्न सरकारसंँग माग पनि गरे । उनले बालेनले गरेको हर्कत बन्द गर्न सरकारको ध्यानाकर्षण गराए । बालेनको पछिल्लो कदम तानाशाही भएको भन्दै उनले भर्त्सना समेत गरे । उनले एमाले साथमा रहेको भन्दै सडकदेखि सदनसम्म कवाड व्यवसायीको पक्षमा जोडदार आवाज उठाउने बताए ।