FLASH NEWS

गणतन्त्र आदर्शबिहिन सत्तालोलुप ब्यबस्था प्रमाणित : कमल थापा


नेपाल आवाज २६ फाल्गुन २०८०, शनिबार १३:४१ मा प्रकाशित ३८०५ पाठक संख्या

काठमाडौं –


राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र आदर्शबिहिन सत्तालोलुप ब्यबस्था प्रमाणित भएको बताएका छन्।

पार्टी पदाधिकारी र क्षेत्रीय समन्वय समितिका अध्यक्षहरुसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले १४ महिनामा ४ वटा गठवन्धन,१३ पटक मन्त्रिपरिषद पुनर्गठन, ४३ जना मन्त्री यसको प्रमाण भएको समेत बताए।

के यस्तै लोकतन्त्रको लागि हो राजा हटाएको हो? भन्ने प्रश्न गर्दै थापाले यस किसिमको अस्थिरता र ब्रम्हलुटले देशको आर्थिक विकास नहुने र वैदेशिक लगानी पनि नभित्रने दाबी गरे ।

नेताहरुको यस्तै प्रवृत्तिको कारण राज्यप्रति जनताको भरोसा टुटेको टिप्पणी गर्दै उनले संधैको लागि देश छोडेर जाने लहर बढेको प्रती राज्य उदाशिन भएको समेत आरोप लगाए ।

राप्रपा नेपालले संगठन निर्माण र आन्दोलनलाईसँगै लैजानु पर्ने आवश्यकता रहेको भन्दै थापाले अहिलेको संघीय धर्मनिरपेक्ष गणतान्त्रिक ब्यबस्थाको अन्त्य बिना देश सुरक्षित हुन नसक्ने समेत विचार व्यक्त गरे।

हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको बाटोबाट अघि बढ्नुपर्ने भन्दै थापाले आन्दोलन गर्न बिचार मिल्ने हरुबिच तत्काल मोर्चा बनाउनु पर्नेमा जोड दिए । एक्लैएक्लै हिँड्ने कोसिस गरे समयले कसैलाई माफ नदिने भन्दै थापाले देश र जनताको बृहत्तर हितको लागि फराकिलो सोच र दुरदर्शिता आवश्यक रहेको समेत बताए ।

बैठकमा ७ क्षेत्रका क्षेत्रीय समन्वय समितिका अध्यक्षहरु तथा महामन्त्रीहरुले भाबी कार्यक्रम र कार्य प्रगती बारे प्रतिवेदन प्रस्तुत गरेका थिए।