FLASH NEWS

कल्याणपुर नगरपालिकाको उपमेयर रेखा यादवद्वारा सरकारी गाडीको दुरुपयोग


नेपाल आवाज १ चैत्र २०८०, बिहीबार १७:०० मा प्रकाशित ६४९ पाठक संख्या

सिरहा। सिरहाको एक नगरपालिकाको जनप्रतिनिधिले सरकारी गाडीको दुरुपयोग गर्ने गरेको पाइएको छ। जिल्लाको कल्याणपुर नगरपालिकाको उपमेयर रेखा यादवले सरकारी गाडीको चरम दुरुपयोग गरिरहेको पाइएको हो ।


नगरको कामकाजमा सहजताका लागि नगरपालिकाले उपमेयरलाई दिएको सरकारी गाडी उनले निजीझैँ प्रयोग गर्दै आएको स्थानीयहरु बताउँछन्।

कार्यालयमा बिरलै देखिने उपमेयर यादव चढ्ने प्रदेश २–०२००१ झ ००३६ नम्बरको स्कोर्पियो निजी काममा प्रयोग गरेको स्थानीय राम कुमार यादवले बताए । उनले भने , ‘उनी त उनी, उनका श्रीमान् अजय यादवले समेत बिहे भोजभतेर लगायतको निजी कामकाजमा प्रयोग गर्दै आइरहेका छन् ।’

कल्याणपुरगाउँबाट सोमबार अबेर राती उपमेयरको श्रीमान अजय यादव र गाउँका ४/७ जनालाई गाडीमा बोकेर जन्तीको लागि जनकपुर गएको नाम नखोल्ने शर्तमा एक स्थानीयले बताए। उनले भने, ‘ जनकपुरस्थित आरजी होटेलमा कल्याणपुरबाटै गएको जन्तीमा बिहेका सामग्री लोड गरी उनी त्यहाँ गएका थिए ।’

सोमबार सार्वजनिक बिदा थियो । उनी जनकपुर जाँदा बाटाे कयौं प्रहरी र ट्राफिक कार्यालय पार गरे । तर, कसैले केही गरेनन् ।  सरकारी गाडीको दुरुपयोग गरेको विषयमा स्थानीयले निरन्तर रूपमा विभिन्न माध्यमले सरोकारवाला निकायलाई जानकारी गराए पनि सम्बन्धित निकाय मौन भएर बसेका छन्। गाडीको दुरुपयोग गर्नेलाई कानुनी कारवाहीको व्यवस्था नै छ । तर, सरोकारवाला निकायले यस विषयमा मौनता साँधेको स्थानीयहरुले आरोप लगाएका छन्।