FLASH NEWS

नुवाकोट प्रहरी प्रमुख थापाको जिम्मेवारी खोसियो


नेपाल आवाज ३ चैत्र २०८०, शनिबार १४:३५ मा प्रकाशित ८२३ पाठक संख्या

काठमाडौं – नुवाकोटका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाको जिम्मेवारी खोसिएको छ ।


सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले कारबाही सिफारिसमा परेका एसपी थापाको जिम्मेवारी खोसिएको हो ।

सुन तस्करीको अनुसन्धानबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले बिहीबार प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा सुन तस्करीबारे अनुसन्धानमा सीआईबीबाट गम्भीर त्रुटि भएको निष्कर्ष निकालिएको छ । त्यसक्रममा सीआईबी प्रमुख किरण बज्राचार्य, एसपी थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही सिफारिस भएको छ ।

कारबाही सिफारिस भएपछि थापालाई नुवाकोट प्रहरी प्रमुखबाट शुक्रबार हटाइएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो । डीएसपी दाहाल र कुँवरलाई पनि प्रहरी प्रधान कार्यालय तानिसकिएको छ ।

सीआईबी प्रमुख बज्राचार्यलाई पनि त्यहाँबाट हटाएर नयाँ प्रमुख पठाइएको छ ।

प्रतिवेदनमा पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, ९ चिनियाँ नागरिकसहित २१ जनालाई कारबाही गर्न सिफारिस गरेको थियो ।