FLASH NEWS

नयाँ सत्ता गठबन्धन बनेपछि देशको राजनीति सही ट्रयाकमा आयो : प्रधानमन्त्री


नेपाल आवाज ४ चैत्र २०८०, आईतवार ०९:२१ मा प्रकाशित ४१५ पाठक संख्या

पोखरा – प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नयाँ सत्ता गठबन्धन बनेपछि देशको राजनीति सही ट्रयाकमा आएको बताउनुभएको छ । उहाँले गण्डकी प्रदेशमा पनि माओवादी केन्द्रकै नेतृत्वमा सरकार बन्ने बलियो सम्भावना रहेको खुलाउनुभयो ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रममा सहभागी हुन यहाँ आइपुग्नुभएका दाहालले आइतबार बिहान पार्टीका अगुवा नेता–कार्यकर्तासँगको भेटमा अब कामको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यलाई बलियो बनाउन निम्ति नयाँ समिकरण बनाएको जिकिर गर्नुभयो ।


दाहालले भन्नुभयो, ‘कांग्रेसबाट पटकपटक धोका भयो । कांग्रेसबाट हामीलाई भोट ट्रान्सफर हुने पनि देखिएन । सबैजसो निर्वाचनमा धोका भयो । भोलि पनि यस्तै हुने देखियो । एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौं ।’

दाहालले गण्डकी प्रदेश सरकारको नेतृत्व माओवादीले नै पाउने बलियो आधार बनेको पनि बताउनुभयो । ‘गण्डकी प्रदेश सरकारका बारेमा पनि हामी छलफल गर्दैछौँ । प्रदेशमा सरकार गठनका लागि गृहकार्यमै छौँ । त्यो टुंग्याएपछि एउटा निष्कर्षमा पुग्नेछौँ ।’ दाहाल सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले माओवादीलाई सुदृढ गर्न हिमाल,पहाड तराई सबै क्षेत्रलाई समेट्ने गरी एक महिने अभियान चलाउने उल्लेख गर्नुभयो ।

केन्द्रमा बनेको नयाँ गठबन्धनले संविधानको रक्षा र सुदृढीकरण सँगै वामपन्थी आन्दोलनको रक्षा गर्ने दाहालको दाबी छ । ‘कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ । त्यसले व्यवस्थामाथि नै संकट ल्याउँथ्यो । त्यो चुनौती पार गरिएको छ । देशका राजनीति सही बाटोमा आएको छ ।’ उहाँले भन्नुभयो ।