FLASH NEWS

सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित 


नेपाल आवाज ४ चैत्र २०८०, आईतवार १२:२३ मा प्रकाशित ३७३ पाठक संख्या

काठमाडौं, ४ चैत । प्रतिनिधिसभाले सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव बहुमतले पारित गरेको हो ।


आइतबार अन्सारीको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधि सभा सदस्य भएकी थिइन् ।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते हृदयघातका कारण निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद भएकी थिइन् ।

सभामुख देवराज घिमिरेले आज नै सिभिल अस्पतालमा पुगेर शोक प्रकट गरेका थिए । २०४६ सालको आन्दोलनदेखि राजनीतिक यात्रा सुरुवात गरेकी उनी सद्भावना पार्टीमा आबद्ध भई २०४६ सालदेखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज भएकी थिइन् । उनी हाल जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य थिइन् ।