FLASH NEWS

वरिष्ठ निर्देशक स्व. प्रताप सुव्वाको स्मरणमा श्रद्धाञ्जली सभा आयोजना


नेपाल आवाज ४ चैत्र २०८०, आईतवार १९:२८ मा प्रकाशित ७६३ पाठक संख्या

नेपाली सिनेमा जगतका एक दिग्गज तथा मुर्धन्य व्यक्तित्व वरिष्ठ निर्देशक स्व.प्रताप सुव्वाको स्मरण गर्दै हिजो चैत्र ३ का दिन काठमाण्डौं, थापागाउँ स्थित A1Time Tv को हलमा निर्देशक एवं संपादक श्याम राजा श्रेष्ठको संयोजकत्वमा एक विशेष श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरियो ।


सभामा वरिष्ठ कलाकार रवि गिरी, वरिष्ठ नृत्य निर्देशक कमल राई, बरिष्ठ छायांकार शिव ढकाल, वरिष्ठ निर्देशक विनोद सेरेङ्ग लगायत उहाँका थुप्रै चेला चेलीहरुको उपस्थिति थियो । सभामा स्व.सुव्वाले नेपाली सिनेमाको क्षेत्रमा पुर्‍याउनु भएको अतुलनिय योगदान साथै, वहाँसंग सहकार्य गर्दाका क्षणहरुको वारेमा चर्चा गर्दै वहाँ प्रति हार्दिक श्रद्धा सुमन अर्पण गरेका थिए ।

दार्जिलिङ्गका पहिलो पुस्ताका लेखक तथा निर्देशकका रुपमा वहाँलाई लिईन्छ । वहाँको जन्म २००४ साल असोज २४ गते भएको थियो भने वहाँको स्वर्गारोहण २०७९ चैत्र २ गतेका दिन सिलगुडी स्थित प्यारामाउण्ट हस्पिटलमा भएको थियो । गुरु प्रसाद मैनालीको कथामा आधारित परालको आगो(२०३४) मार्फत निर्देशकिय यात्रा शूरु गर्नु भएको स्व. सुव्वाले मशाल(२०४१), कही अंध्यारो कही उज्यालो(२०४४) लगायतका चलचित्रहरु निर्देशन गर्नु भएको थियो । चलचित्र निर्देशन गर्नु भन्दा अगाडी वहाँले भारत तथा नेपाल दुवैतिर एकदम चर्चित रहेको नाटक “रातको एक प्रहर” को पनि निर्देशन गर्नु भएको थियो । मशाल चलचित्र मार्फत सुनिल थापा र डेनी डेङ्गजोङ्गपालाई स्थापित गर्ने स्व.सुव्वा कही अंध्यारो कही उज्यालो हल प्रदर्शनमा लफडा परेपछि दार्जिलिङ्गबाट नेपाल आउनु भएको थियो । वहाँले नेपाल आएर केही समय टेलिसृंखला तथा विज्ञापनमा कामहरु गरे पछि “बन्द पर्दा
भित्र”, दिदी(२०४८), “चट्याब्”(२०५०) र “भिष्म प्रतिज्ञा”(२०५१) लगायतका चलचित्रहरु निर्देशन गर्नु भयो ।

वरिष्ठ अभिनेता नीर शाहका अनुसार पहिलो पटक अभिनय गराउने स्व.सुव्वाले नै खलनायकको भूमिकामा भिष्म प्रतिज्ञा प्रस्तुत गर्नु भएको थियो । दार्जिलिङ्गमा जन्मिएका नेपालीमूलका स्व.सुव्वाले ७ वटा नेपाली कथानक चलचित्र, ६ वटा वृतचित्र, ५ वटा भिडियो चलचित्र, १३ वटा टेलि चलचित्र र ५ वटा नाटकको निर्माण तथा निर्देशन गर्नु भएको थियो । मुस्किलले एक-दुई चलचित्र बन्ने त्यो जमानामा वहाँले परालको आगोबाट प्रशंसामात्र कमाएन कि फिल्मले समिक्षात्मक रुपमा सफलता हासिल गर्नुका साथै राम्रो ब्यापार पनि गरेको थियो । सोही फिल्ममा वहाँले देखाउनु भएको निर्देशकिय खुवीकै कारण वहाँलाई मौलिक नेपाली फिल्मको निर्देशकको प्रेरता पनि मानिन्छ ।

नेपाली सिनेमालाई लेखन अनुरुप जस्ताको तस्तै मौलिक, मार्मिक अनि रोचक ढङ्गले सुहाउदो परिवेशसंग मिलाएर सहज र सरल रुपमा निर्देशन गर्ने खुवी बोकेका स्व.सूव्वाले नेपालमा लामो समय बसेर नेपाली कला जगतका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले काठमाण्डौंमा डायमण्ड एक्टिङ्ग ईन्स्टिच्युट र क्लासिक सिने युनिभर्स संचालन गरि अभिनय, निर्देशन, नृत्य, छायाँकन लगायत विविध विधामा दर्जनौ कलाकर्मीहरु उत्पादन गर्नु भएको छ ।

वहाँबाट अभिनय र निर्देशनको सिप सिकेका थुप्रै वहाँका चेलाचेलीहरु फिल्म क्षेत्रमा आज पनि सक्रिय र सफल रहेका छन्।