FLASH NEWS

मृत अवस्थामा बाघ फेला


नेपाल आवाज ७ चैत्र २०८०, बुधबार १४:११ मा प्रकाशित ४५७ पाठक संख्या

बारा। बाराको कोल्हबी नगरपालिका वडा नम्बर २ स्थित अमवा महादेव मन्दिर नजिकको जङ्गलमा मंगलबार दिउँसो एउटा पाटे बाघ मृत अवस्थामा फेला परेको छ। कोल्हबी वन डिभिजन कार्यालयको वन गस्ती टोलीले उक्त पाटे बाघ मृत अवस्थामा फेला परेको हो ।


सो बाघको ४८ इन्च लम्बाई, घाटीको मोटाइ १८ इन्च, पेट्को मोटाइ ३२ इन्च, टाउकोदेखि पुच्छरसम्मको लम्बाई ५८ इन्च, पन्जाको लम्बाई ४ इन्च, उचाइ ३० इन्च र उमेर अन्दाजी ३ वर्ष रहेको इलाका प्रहरी कार्यालय कोल्हबीका निरीक्षक भोलामान सिंह अधिकारीले जानकारी दिए । उनका अनुसार पुच्छरको लम्बाइ १७ इन्च भएपनि काटिएको अवस्थामा ७ इन्च मात्रै बाँकी रहेको छ ।

त्यसैगरी माथिलो भागको बाङ्ग्ररा, ठूलो दात एउटा र सानो दात ४ वटा र एउटा ठूलो दात पनि भाचिएको छ । बाघको पछाडिको खुट्टाबाट एउटा नङ काटेर लगिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । निरीक्षक अधिकारीले सो घटना बारे थप अनुसन्धान भइरहेको बताए ।

पछिल्लो समय बारामा मृत अवस्थामा बाघ फेला पर्ने क्रम बढेको छ । यसअघि निजगढ नगरपालिका वडा नम्बर ४ स्थित कछडिया सामुदायिक वन समूहको जंगलमा गत महिना एउटा पाटे बाघ मृत अवस्थामा फेला परको थियो । त्यसैगरी २ महिनाअघि निजगढ ४ कै बाघ भैरव सामुदायिक वन क्षेत्रभित्र पनि एउटा चितुवा मृत अवस्थामा फेला पारिएको थियो ।