FLASH NEWS

सशस्त्र प्रहरी बलले सुरु गर्यो ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ नामक पदयात्रा


नेपाल आवाज ७ चैत्र २०८०, बुधबार २०:०६ मा प्रकाशित १२५५ पाठक संख्या

झापा –  सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासा सुन्नका लागि संयुक्त सीमा पैदल यात्रा सुरु गरेको छ ।


‘सीमाबासीसँग सशस्त्र प्रहरी’ नामक अभियान अन्तर्गत उक्त यात्रामा सुरक्षाकर्मी र जनप्रतिनिधिहरुले सीमाका बासिन्दासँग प्रत्यक्ष अन्तर्क्रिया गर्नेछन् ।

बुधबार मेचीनगर-७ सतिघट्टास्थित ९१-१ नम्बरको सीमा स्तम्भबाट सुरु भएको यात्रामा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना उप्रेती, नेपाली सेनाका गणपति प्राजु बस्न्यात, सशस्त्र प्रहरी बल २ नं. गणका गणपति कविन्द्र राई, नेपाल प्रहरीका प्रहरी उपरीक्षक मिलन केसी लगायत स्थानीय वडाका जनप्रतिनिधि र सीमाबासी सहभागी छन् ।

झापा जिल्लामा बाहुनडाँगीदेखि गौरीगञ्जसम्म १४४ किलोमिटर लामो सीमा क्षेत्र छ ।

हरेक किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरीले सुरक्षा पोस्ट राखेर सीमाको निगरानी गरिरहेको छ । झापा जिल्लासँग अन्तर्राष्ट्रिय सीमा जोडिएको क्षेत्रलाई चार भागमा विभाजन गरी चैत महिनाभरि संयुक्त सीमा पैदल यात्रा सञ्चालन गरिने जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले सीमामा बासिन्दाहरु वास्तविक सीमा रक्षक भएको हुँदा उनीहरुको गुनासाको सम्बोधन गर्न राज्य सकारात्मक रहेको बताए । उनले सीमामा तैनाथ सुरक्षाकर्मीहरुलाई उच्च मनोबलका साथ खट्न निर्देशनसमेत दिए ।

सशस्त्र प्रहरी दिवसको अवसर पारेर सशस्त्र प्रहरी बलले सीमाका बासिन्दासँग सहकार्य अघि बढाउने उद्देश्यले ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ नामक अभियान घोषणा गरेको थियो ।

अभियानका क्रममा सीमाबासीलाई आर्थिक, सामाजिक र शैक्षिक सहयोग पुर्याइने सशस्त्र प्रहरी बल २ नं. गणका गणपति कविन्द्र राईले जानकारी दिएका छन् ।